आज पापङ्कुश एकादशी, पाप नाश र मोक्ष प्रदान गर्ने दिन

काठमाडौं । आज असोज १७ गते शुक्रबार (विजयादशमीको भोलिपल्ट) पापङ्कुश एकादशी पर्व परेको छ । बिष्णुभक्तहरुले श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउदैछन ।

आश्विन शुक्ल पक्षको एकादशीका दिन पर्ने यस व्रतलाई भगवान विष्णुको आराधना गरेर पाप नाश गर्ने महान् अवसरका रूपमा लिइन्छ।

पद्मपुराणलगायत धर्मग्रन्थमा उल्लेख भएअनुसार पापङ्कुश एकादशीमा उपवास गरी भगवान विष्णुको नामस्मरण गर्नेले जन्मजन्मान्तरका पाप नाश भई मोक्ष प्राप्त गर्छन्। यस दिनको पुण्यले केवल व्रत गर्ने व्यक्ति मात्र होइन, उसका पितृहरू समेत उद्धार हुने विश्वास छ।

पौराणिक कथाअनुसार, हुन्तक नामका शिकारीले पनि ऋषिको सल्लाहअनुसार पापङ्कुश एकादशीको व्रत गरेपछि मृत्यु पश्चात वैकुण्ठ धाम प्राप्त गरे। त्यसैले यो व्रतलाई पापमोचन दिने महान् दिन मानिन्छ।

धार्मिक परम्परा अनुसार आजको दिन अन्न, मासु, माछा, मदिरा, प्याज र लसुनजस्ता तामसिक पदार्थ सेवन नगरी ब्रत बसेर दिन बिताउने गरिन्छ। भक्तजनहरूले बिहानै स्नान गरी तुलसी, अक्षता, धूप, दीप, नैवेद्य अर्पण गरेर भगवान विष्णुको पूजाआराधना गर्ने गर्दछन्।

दशैमा देवी दुर्गाको आराधना गरी शक्तिको उपासना गरिने भए पनि बिजयादशमीको भोलिपल्ट विष्णुभक्ति र पापमोचनसँग जोडिएको एकादशी पर्वले धार्मिक एवं सांस्कृतिक महत्व झन् बढाउने पण्डितहरु बताउँछन्।

विभिन्न मठ–मन्दिर तथा घर–घरमा एकादशी व्रत, सत्संग, भजनकीर्तन र दानपुण्य गरी यो पर्व मनाइँदैछ।