चारदिनसम्म भारी वर्षाको सम्भावना

Barsa
Barsa

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणालीको प्रभावले नेपालमा असोज आजदेखि २० गतेसम्म जलवायुजन्य प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदै ठूलो पानी पर्ने सम्भावना छ।

विभागले नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा जलस्तर आकस्मिक रुपमा बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस अवधिमा आकस्मिक बाढी, डुबान, पहिरो तथा भू-स्खलनको जोखिम उच्च रहने चेतावनी दिइएको छ।

काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनलगायतका स्थानमा समेत नदी तथा खोलामा पानीको सतह बढ्ने सम्भावना रहेकाले असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

नागरिकलाई विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर (११५५) तथा SMS मार्फत प्रसारित हुने सूचना नियमित रूपमा प्राप्त गरी आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ।