बाढीमा पुरिएको घरबाट चन्डिकाको जीवित उद्धार, उपचारका लागि काठमाडौं ल्याइँयो

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीका कारण घर पुरिएपछि भित्र फसेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको घरमा बाढी पसेर पुरिएपछि उनकी श्रीमती चन्डिका घरभित्रै फसेकी थिइन्। सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले उनलाई उद्धार गरेको हो।

उद्धार गरिएकी चन्डिकाको स्वास्थ्य उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

यसअघि नेपाली सेनाको टोलीले अपर त्रिशूली–१ आयोजनाबाट एक चिनियाँ नागरिकको समेत उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट पनि दुई जनालाई उद्धार गरिएको थियो।

बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।