काठमाडौ । नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिनदेखि प्रहरी हिरासतभित्रै अनसनमा बसेका छन्। गत शुक्रबार पक्राउ परेसँगै उनले खाना त्यागेका हुन्।
सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबारमा भ्रामक सूचना प्रवाह गरी कृत्रिम मूल्य वृद्धि गर्दै करिब ४९ लाख रुपैयाँभन्दा बढी अवैध नाफा आर्जन गरेको आरोप छ।
तर, अग्रवालले आरोप अस्वीकार गर्दै आफूलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नियोजित रूपमा फसाएको दाबी गरेका छन्। बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको विरोधमा आन्दोलन गरिरहेकै कारण पक्राउ गरिएको भन्दै उनले श्रेष्ठमाथि कारबाहीको मागसहित अनसन थालेका हुन्।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अग्रवालले पानी भने पिइरहेका छन् र सोमबार गरिएको स्वास्थ्य परीक्षणमा अवस्था सामान्य देखिएको छ। पारिवारजनले भने अनसन लम्बिँदै जाँदा स्वास्थ्य कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।




