काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ ।
नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २५०.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनाको अवधिमा ४ खर्ब १५ अर्ब ७८ करोड बराबरको १ अर्ब २५ करोड ७४ लाख ३० हजार कित्ता शेयर किनबेच भएको थियो ।
आठ महिनामा सबैभन्दा बढी जलविद्युत् समूहको शेयर कारोबार हुदाँ सबैभन्दा कम डिबेन्चरको रहेको छ । समिक्षा अवधिमा क्रमशः जलविद्युतको ४ खर्ब ९३ अर्ब ५७ करोड, वित्त १ खर्ब ५२ अर्ब ३३ करोड, वाणिज्य बैंकको १ खर्ब ४२ अर्ब ७३ करोड, विकास बैंकको १ खर्ब १६ अर्ब ४३ करोड , लगानी समूहको १ खर्ब २ अर्ब ८२ करोड र लघुवित्तको १ खर्ब २ अर्ब ५९ करोड बराबरको शेयर किनबेच भएको हो ।
साथै सोहि अवधिमा अन्य समूहको ८७ अर्ब ६६ करोड , जीवन बीमाको ८१ अर्ब ७२ करोड, उत्पादन र प्रशोधनको ५८ अर्ब ८५ करोड, निर्जीवन बीमाको ५९ अर्ब ७० करोड र होटल र पर्यटन समूहको २७ अर्ब ८३ करोड बराबरको शेयर किनबेच भएको छ । साथै आठ महिनाको अवधिमा संस्थापक शेयर १८ अर्ब ६२ करोड , व्यापार समूहको ४ अर्ब ९१ करोड, म्युअुचल फण्ड ३ अर्ब ७३ करोड र डिबेन्चर २ अर्ब ३० करोड बराबरको कारोबार भएको हो ।
यसैबीच गत आर्थिक वर्षको फागुनमा २१०० वरपर रहेको नेप्से परिसूचक भने हाल आएर बढेको छ । चालु आवको फागुन महिनामा भने नेप्से परिसूचक २८०० को वरपर रहेको थियो ।