गणतन्त्र स्थापना भएको १७ वर्षको अवसरमा बिहीबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित विशेष समारोह भव्य रुपमा सम्पन्न भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
समारोहको आरम्भमा नेपाली सेनाद्वारा राष्ट्रपतिलाई विशेष सलामी अर्पण गरियो। राष्ट्रिय गानको संगितमा गरिएको झण्डोत्तोलनले वातावरणलाई अझै गौरवपूर्ण बनाएको थियो ।
सो अवसरमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो, जसले लोकतन्त्रको मार्गमा अपूर्व योगदान पुर्याएका थिए। संघर्ष, त्याग र बलिदानका प्रतीक अग्रजहरूको सम्झनाले सम्पूर्ण राष्ट्र भावुक बन्यो।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीपरिषद् सदस्य, संवैधानिक निकाय प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकाय प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रह्यो।
समारोहको विशेष आकर्षणको रुपमा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘गणतन्त्र दिवस २०८२’ लेखिएको ब्यानर आकाशमा फहरियो र पुष्पवृष्टि गरियो। यससँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायद्वारा शानदार मार्चपास प्रस्तुत गरियो।
विविध सांस्कृतिक झाँकीहरू, देशको विविधता र एकताको प्रतीकका रूपमा प्रस्तुत भए, जसले टुँडिखेललाई रङ्गिन र उत्सवमय बनाएको थियो
गणतन्त्रको मूल्य र बलिदान सम्झाउने यो समारोहले नेपाली जनताको संकल्प, स्वतन्त्रता र समानताको यात्रालाई पुनः एकपटक उजागर गरेको छ ।