३९ दिनमै कक्षा १२ को नतिजा, ९ प्रतिसत बढी विद्यार्थी उत्तीर्ण

संजीप घिमिरे, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९ औं दिनमा शुक्रवार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेश अनुसार चाडै परीक्षाफल प्रकाशन गरेको हो ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १ सय ७० विद्यार्थी परीक्षार्थी सहभागी रहेका थिए । प्रकाशित नतिजा अनुसार आंशिकतर्फका ३६ हजार ४ सय २० सहित कुल २ लाख ६८ हजार १ सय ९० परीक्षार्थी उत्तीर्ण भएका छन् । नियमित र आंसिक गरी ६४.३१ प्रतिसत परीक्षार्थीले कक्षा १२ को परीक्षा उतीर्ण गर्न सफल भएका बोर्डले जनाएको छ।

नतिजा अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७ सय ७० अर्थात ६९.७५ प्रतिशत उतीर्ण भएका छन् ।

नतिजा सुधारोन्मुख
नियमित परीक्षार्थीको परीक्षाफल विश्लेषण गर्दा गत वर्ष भन्दा यो वर्ष ९ प्रतिसत बढी विद्यार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कमजोर नतिजा भएका प्रदेश, जिल्ला, पालिका हुँदै विद्यालय केन्द्रीत सिकाइको प्रभावकारी अनुसन्धान र विश्लेषण गरेर कार्ययोजना बनाउँदा नतिजामा सुधार आएको उनले दावी गरे ।

गाउँपालिका र नगरपालिका महासंघसंग सहकार्य गरेर ४ सय बढी पालिकामा बोर्डले विषय विज्ञ पठाएर पाठ्यक्रम, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण लगायतको तालिम दिएको उनले जानकारी गराए । ”शिक्षण सिकाइ प्रभावकारी बनाउन गत वर्ष २ हजार बढी शिक्षकलाई अभिमुखीकरण र तालिम दिंदा यो वर्ष ९ प्रतिसतले नतिजामा सुधार आएको देखियो ।” परीक्षा नियन्त्रक शर्माले दावी गरे ।

अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण
सार्वजनिक नतिजा अनुसार नियमिततर्फ १ लाख ४ सय ७१ विद्यार्थी अर्थात ३०.२५ प्रतिशत ‘एनजी’ (नन–ग्रेडेड) भएका छन् । सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन ग्रेडेड भएका उप परीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताएका छन् ।

उपनियन्त्रक घिमिरेले जनाए अनुसार अनिवार्य अंग्रेजीमा १४ प्रतिसत विद्यार्थी नन ग्रेडेड भएका छन् । अंग्रेजीपछि लेखा विषयमा बढी अनुतीर्ण रहेका उनले बताए । घिमिरेले जनाए अनुसार मौका परीक्षामा सहभागी हुन् पाउने विद्यार्थी पनि अंग्रेजी र लेखा विषयकै बढी रहेका छन् ।

९ प्रतिसतले मौका परीक्षा दिन नपाउने
नियमिततर्फ नन ग्रेडेड भएका भएका १ लाख ४ सय ७१ विद्यार्थी मध्ये ९ प्रतिसत विद्यार्थीले भने ९ प्रतिसतले ग्रेड वृद्धिको लागि मौका परीक्षा दिन नपाउने उप परीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताएका छन् । दुई भन्दा बढी विषयमा ‘एनजी’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन नपाउने व्यवस्था अनुसार उनीहरु यस अवसरबाट बन्चित भएका बताइएको छ ।

कुन जीपीएमा कति विद्यार्थी ?
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २.८१ देखि ३.२० जीपीए समूहमा सबैभन्दा बढी परीक्षार्थी उतीर्ण भएका छन्। यस समूहमा ९४ हजार २ सय ४९ विद्यार्थी रहेका छन्। सबैभन्दा कम संख्या रहेको १.६१ देखि २.०० जीपीए समूह हो । यसमा ९ जना मात्र छन् । सर्वोत्कृष्ट जीपीए समूह ३.६१ देखि ४.० सम्म ल्याउनेको संख्या भने १७ हजार ७ सय ८६ रहेको छ ।
त्यस्तै २.८१ देखि ३.२० जीपीए समूहमा ९४ हजार २ सय ४९ जना र २.४१ देखि २.८० जीपीए ल्याउनेमा ५० हजार ५ सय ९७ जना रहेका छन् ।

वागमतीको सर्वोत्कृष्ट नतिजा
कक्षा १२ आमा सबैभन्दा बढी विद्यार्थी वाग्मती प्रदेशबाट सहभागी रहेका थिए । बागमतीमा ७८ प्रतिसत परीक्षार्थी उतीर्ण भएका उप परीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताए ।

सबैभन्दा कम उत्तीर्ण हुने प्रदेशमा कर्णालीले मधेश प्रदेशलाई उछिनेको छ । कर्णालीबाट सहभागी परीक्षार्थी मध्ये ६४ प्रतिसत मात्र उत्तीर्ण रहेका उप नियन्त्रक घिमिरेले जनाएका छन् ।
(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)