सम्पादकीय : “रगतले लेखिएको प्रश्न”

२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो ।

१९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । यी आँसु केवल ती परिवारका निजी पीडा होइनन्, देशकै पीडा बन्न पुगेको छ ।

कुर्सी जोगाउने अहंकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको आन्दोलनलाई घुसपैठ भनेका छन् । उनमा रत्तिभर पिडाबोध र संवेदना देखिदैन । गृहमन्त्री रमेश लेखकको राजिनामाले सरकारको अनुहार सफा गर्न सक्दैन ।

कार्यपालिका प्रमुखको जिम्मेवारी जनतासंग जोरी खोज्ने होइन, जनताको सेवक हुने हो । सरकारले जनताको सत्ता चलाउने जिम्मेवारी पूरा गर्ने हो भने जनभावना अनुकुल चल्नैपर्दछ । जब शासकहरु स्वेच्छाचारी हुन्छन् र जनभावना कुल्चँदै अघि बढ्छ्न्, तब जनता सडकमा उत्रन्छन र बिद्रोह ओकल्छन् ।

विद्रोह जनताको अधिकार हो, यसको सम्बोधन गर्नुको विकल्प छैन । सडकले आज स्पष्ट भनिसकेको छ—”अब दल र नेताहरूको स्वेच्छाचारीता स्वीकार्य छैन।”

देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले जनतालाई जवाफ दिनैपर्छ । उनीहरूको नेतृत्वमा बनेको सरकारले माफी मागेर मार्गप्रसस्त गर्नुपर्छ ।

न्यायका नाममा बगेका यी रगत बेकार जाँदैनन्। आशा छ कि यो बलिदानले देशलाई जागरुक र जवाफदेही बनाउँछ। र, आशा छ कि यो आन्दोलनले नयाँ पुस्ताको सपनालाई तोड्ने होइन, जोड्नेछ किनभने यो देश सबैभन्दा बढी युवाहरूकै हो ।

रगत रोकिएला, आँसु सुक्ला, परिवर्तन पनि होला तर, इतिहासले यो प्रश्न सधैं सोधिरनेछ —“लोकतान्त्रिक गणतन्त्रमा छोराछोरी समान बालबालिकाको र युवाको प्रदर्शनमा यस्तो क्रुरता किन ?” यो रगतले लेखिएको प्रश्नले हामीलाई युगयुगान्तर पछ्याइरहनेछ ।

ननस्टपखबर जेनजी पुस्ताका युवाहरूको प्रदर्शनको क्रममा राज्यको बर्बर दमनको बिरोध गर्दछ । प्रदर्शनको क्रममा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।