देश आजदेखि तीन दिनसम्म अबिरल वर्षाको चपेटामा परेको छ।अविरल वर्षासंगै सम्भावित बाढी, पहिरोले जनधनको सुरक्षामा चुनौती थपिएको छ । मौसमविद्हरूले दिएको चेतावनी र सरकारले घोषणा गरेको सार्वजनिक विदाले यो तथ्यलाई अझ स्पष्ट पारेको छ कि हामी उच्च जोखिमको अवस्थामै छौं।
यस्तो अवस्थामा सरकारी सक्रियता, विपद् प्रतिकार्यको चुस्तता र जनचेतना नै यो चुनौतीसंग जुध्ने प्रमुख आधार हो । सरकारको प्रयास र सुरक्षाकर्मीहरूको तत्परता मात्रै पर्याप्त हुँदैन, प्रत्येक नागरिक आफैं सचेत हुन जरुरी छ । नदी किनार र भिरालो ठाउँमा जोखिम बढी हुनेभएकोले यस्तो क्षेत्रका अनावश्यक यात्रा नगर्नु र यस्ता क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नु अपरिहार्य छ ।
बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका र अशक्त तथा बिरामीको विशेष ख्याल राख्नु हामी सबैको कर्तब्य हो । खासगरी अस्पतालमा पनि बाढी, पहिरो र डुबानको समस्याले बिरामीको स्वास्थ्य प्रभावित हुनसक्ने तर्फ ध्यान पुर्यााउनु जरुरी छ ।
स्वास्थ्य क्षेत्रमा चुनौती अझ ठूलो छ। अबिरल वर्षासँगै उत्पन्न हुनसक्ने प्राकृतिक प्रकोपमा परी घाइते हुनेलाई उपचारका लागि स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्यकर्मीले आपत्कालीन तयारीलाई प्राथमिकतामा राख्नुपर्छ। औषधि, उपकरण र आपत्कालीन सेवामा कमी हुन नदिनु नै यस क्षणको प्रमुख जिम्मेवारी हो।
शिक्षण संस्थाहरू बन्द रहेको अवस्थामा बालबालिका घरमा सुरक्षित रहनु पर्दछ । अभिभावकले उनीहरूलाई सुरक्षित वातावरणमा राख्ने मात्र नभई विपद् समयमा आवश्यक व्यवहारिक शिक्षा दिनसके विपद् शिक्षण प्रक्रियाको महत्त्वपूर्ण अंश बन्न सक्छ।
विपद्मा सबै मानिस घरमै रहने र सामाजिक संजालमार्फत बाहिरी अवस्थामा चासो राखिरहने भएकाले सामाजिक संजाल प्रयोगकर्ताले अनावश्यक त्रास र भय उत्पन्न गर्ने भ्रामक खबर पोस्ट गर्नुहुदैन । सत्य, तथ्य र बिश्वसनीय खबर मात्र सस्प्रेषण गर्नुपर्दछ ।
यो विपद्मा राज्यको भूमिका मार्गनिर्देशक र संरक्षकको हो भने समाजको भूमिका सहकार्य र आत्मजागरूकताको हो। हामी सबैको सामूहिक सतर्कता, एकता, सहकार्य र समयमै गरिएको तयारीले मात्र सम्भावित क्षतिको न्यूनिकरण गर्न सक्छ।
विपद् लाई रोक्न सकिँदैन, तर सचेत नागरिक, जिम्मेवार संस्था र प्रभावकारी सरकारको सहकार्यले यसको दुष्परिणामलाई अवश्य नियन्त्रण गर्न सकिन्छ । यही सन्देश अहिले प्रत्येक नेपालीले आत्मसात गर्नुपर्ने बेला आएको छ । सचेत रहौं, सुरक्षित बसौं र विपद्मा एक-अर्काको सहयोगी बनौं !







