काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय संगै काठमाडौ उपत्यकामा भित्रिने र बाहिरिने सबै सवारी साधनहरूलाई अस्थायी रूपमा रोक लगाइएको हो ।
यसैबीच प्राधिकरणले एक अर्को सूचना जारी गर्दै उपत्यकाको नदी किनारमा बनाइएका बाटोहरु (करिडोर) मा साझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन आग्रह गरेको छ । उपत्यकाका नदीहरुमा पानीको बहाव बढेको र ठाउँठाउँमा सडक कटान भएका तथा भासिएका छन् ।
“जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो, अवस्था सामान्य बनेपछि आवागमन खुलाइनेछ,” प्राधिकरण प्रमुख रामबहादुर केसीले भने ।







