पुनर्निमाणमा भक्तपुर मोडेल, जनसहभागितामा उभिँदै इन्द्रायणी द्याेछेँ

Indrayani
भक्तपुर । विकासमा भक्तपुर नगरपालिकाको आफ्नै मोडेल छ । नवयुवादेखि जेष्ठ नागरिकसम्म विकास निर्माणमा उत्तिकै सचेत र सहभागी छन् । नगरपालिकाले ठेकेदारलाई नभई स्थानीय समुदायलाई नै निर्माणको जिम्मेवारी दिने गरेकाले पनि भौतिक निर्माण र पुनर्निर्माणमा स्थानीय जनसमुदाय जोडिएका देखिन्छन् ।
 
दरवार क्षेत्र नजिकै वडा नम्बर-२ खौमास्थित इन्द्रायणी द्याेछेँ(इन्द्रायणी देवी बस्ने घर) पुनर्निर्माणमा शुक्रबार पूर्व प्रतिनिधि सभा सदस्य प्रेम सुवाल पनि श्रमदान गरिरहेका देखिए । द्योछेँको छाना छाउने कार्य भइरहँदा दैनिक दुई सय जनाले श्रमदान गरिरहेका उपभोक्ता समितिका अध्यक्ष बिनोदचरण राय बताउँछन् । “छाना छाउन अझै दुई दिन लाग्छ, यसका लागि मात्र एक हजार जनाको श्रमदान रहन्छ ।” उनले भने ।
 
धार्मिक एवं सास्कृतिक आस्थासंगै आफ्नो ठाउँ आफैं बनाउने परम्परा र सचेतनाका कारण स्थानीय स्वत:स्फूर्त पुनर्निर्माणमा सहभागी भैरहेका पूर्व जनप्रतिनिधि रविन्द्र खर्बुजाको भनाइ छ । 
 
जनश्रमदान मात्र होइन, स्थानीयले आफ्नो गच्छे अनुसार आर्थिक सहयोगको अवसर पनि गुमाउँदैनन् । नगरपालिकाको क्रमागत बजेटमा करिब २ करोड लागत अनुमान गरिएको यो द्योछेँ पुनर्निर्माणमा स्थानीयले ५२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका स्थानीय वडासदस्य श्यामकुमार माताङले जानकारी गराए । 
 
स्थानीय सुनचाँदी ब्यवसायीहरु सहितले पौने ९ तोला सुन दान गरेका छन् । सो सुनले द्योछेँँको छाना र झ्यालमा सुनको जलप लगाउन सकिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन् । “सुन किन्न नगरपालिकाले रकम दिने ब्यवस्था नहुँदा स्थानीय आफैंले जुटाउनुभयो ।” उनले भने ।
 
प्रतिनिधि सभाका पूर्व सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल विकासमा स्थानीय जनसहभागिता भक्तपुरबाट देशले सिक्नुपर्ने दावी गर्छन् । 
 
सरकारी बजेट कसरी खाने भन्ने सोच बढिरहेको बेलामा भक्तपुर नगरमा भने स्थानीयले श्रमदान र चन्दा समेत दिएर सरकारी बजेट बचाउने र किफायती ढङ्गले काम गर्ने गरेको उनले बताए ।
 
स्थानीय श्रम र साधनश्रोतको उपयोगमा जोड दिने र वैदेशिक सहयोग नलिने नगरपालिकाको नीतिलाई मन पराएर स्थानीयले साथ र सहयोग दिनेगरेका उनको भनाइ छ ।
 
इन्द्रायणी द्याेछेँ उपभोक्ता समितिले बैशाख भित्र पुनर्निर्माणको काम पूरा हुने जनाएको छ । भक्तपुर नगरलाई रक्षा गर्न अष्टमातृका (८ मातृदेवी) मध्ये एक इन्द्रायणी देवीलाई राख्न करिब ३ सय ५० वर्ष अघि यो मन्दिर स्थापना गरिएको अभिलेखहरुमा उल्लेख छ ।
 
श्रमदान गर्दै पूर्व प्रतिनिधि सभा सदस्य प्रेम सुवाल