भक्तपुर-१ बाट उम्मेदवारमा नेकपाको रोजाइ पराजुली, लवजु र प्रजापति

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टी भक्तपुरले प्रतिनिधि सभाको लागि भक्तपुर-१ बाट सुदर्शन पराजुलीको नाम सिफारिस गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा पराजुली नेकपाको पहिलो रोजाइमा परेका हुन् ।

पार्टीको प्रदेश समिति सदस्य पराजुली सहकारी बिज्ञ हुन् । सहकारीमार्फत सामूहिक आवास निर्माण गरी नमूना बस्ती बसाल्न सफल नेतृत्व गरेका पराजुली चाँगुनारायण-९ मा कृषि सहकारी मार्फत उत्पादनसंग जोडिएका छन् । त्यस्तै, उनले आफ्नो निवासस्थान ताथलीलाई पर्यटनको केन्द्र बनाउने प्रयास गर्दै सुविधा सम्पन्न भिलेज रिसोर्ट समेत सञ्चालन गरिरहेका छन् ।

उत्पादनमा मात्र होइन, शैक्षिक एवं स्वास्थ्य संस्थाहरु मार्फत उनी समाजसेवामा समेत सक्रिय छन् । राजनीति, ब्यवसाय र समाजसेवामा समानान्तररुपले सफल पराजुली कसैको आँखामा पनि नबिझाउने पात्र मानिन्छन् ।

क्षेत्र नम्बर १ बाट उनीसँगै दोस्रो नम्बरमा हरिराम लवजु सिफारिस भएका छन् । लवजु अधिवक्ता हुन् । साथै, उनी मानव अधिकारकर्मी पनि हुन् । बौद्धिक ब्यक्तित्वको छवि बनाएका लवजु स्थानीयबीच लोकप्रिय छन् ।

त्यस्तै, अर्का नेता साजन प्रजापति पनि उम्मेदवार सिफारिस भएका नेकपाका नेता सुनिल बासुले बताएका छन् । प्रजापति भक्तपुर नगरको प्रतिनिधित्व गर्दै उम्मेदवार सिफारिस भएका हुन् । उनी लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेर पनि कुनै पद नपाएका नेता मानिन्छन् । भक्तपुरको मात्र नभई उपत्यकाकै नेवा: समुदायलाई संगठित गर्दै उनले आफ्नो सांंगठनिक योग्यता सावित गरिसकेका छन् ।

भक्तपुर-१ बाट ०७९ को निर्वाचनमा भने नेमकिपाका सचिव प्रेम सुवाल निर्वाचित भएका थिए।