संजीप घिमिरे शुभचिन्तक, काठमाडौ । प्रकृतिक प्रकोपले एकपटक फेरि देशलाई गहिरो शोकमा डुबाएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी जलप्रकोपले ठूलो जनधनको क्षति पुर्याएको छ।
यस्तो विपत्तिमा सबैभन्दा पीडादायी अवस्था आफ्ना परिवारसंग सम्पर्कबिहीन हुनु हो । त्यसैले बेपत्ताको खोजी कार्यमा सम्पूर्ण शक्ति लगाउनुपर्छ ।
प्राकृतिक विपत्ति भनेर पन्छिने छुट राज्यलाई छैन । विपदपछि उद्धार, राहत र पुनःस्थापनामा राज्यको क्षमता र जिम्मेवारीको परीक्षण हुन्छ ।
विपद सामना गर्नुको विकल्प छैन । तर, विपदको जोखिम घटाउने दीर्घकालीन उपायमा पनि अब गम्भीर हुनुपर्छ। नदीको बहाव, बस्तीको जोखिम, पूर्वसूचना प्रणाली, उद्धार संयन्त्र तथा विपद् व्यवस्थापनको तयारीलाई प्रभावकारी बनाउन नसक्दा क्षति बढेको कुरा लुकाएर बस्ने होइन, स्वीकार गर्नैपर्छ ।
यस घडीमा राजनीतिक आरोप-प्रत्यारोप वा, दोषारोपणभन्दा मानवीय उद्धार पहिलो प्राथमिकता हो । तीनै तहका सरकार, राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबैले आ-आफ्नो ठाउँबाट प्रतिकार्य गर्नुपर्छ।
विपत्तिमा जुध्नु र पीडितलाई साथ दिनु सरकारको जिम्मेवारी हो, यसमा हातेमालो गर्नु हामी सबै नागरिकको साझा दायित्व भएकोसमेत भुल्नु हुँदैन ।
बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापितको व्यवस्थापन र पीडित परिवारलाई राहत तथा पुनःस्थापनाको जिम्मेवारी राज्यले संवेदनशीलताका साथ पूरा गर्नुपर्छ र त्यसमा हामी सबैको साथ सहयोग रहनु पर्दछ ।
आज देश शोकमा छ। तर, शोकमै थचक्क बसिरहने अवस्था छैन। बेपत्ताको खोजी गर्नुछ, घाइतेको जीवन बचाउनुछ । प्रियजन गुमाएका परिवारको पीडा शब्दले समेट्न सकिँदैन, संकटमा राज्य र समाज उनीहरूको साथमा छ भन्ने अनुभूति दिलाउनु अत्यावश्यक छ ।
विपदसंग एकजुट भएर सामना गर्नुछ। यहीँ नै अहिलेको साझा संकल्प हो। राष्ट्रिय विपत्ति घोषणा गरी यसमा केन्दीत हुन सरकारले ध्यान पुग्नु जरुरी छ ।
अहिलेको पहिलो दायित्व जीवन बचाउनु हो । त्यसपछि क्षतिको मूल्यांकन, राहत र पुनर्निर्माण हुँदै भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणको स्थायी उपाय खोज्न अब ढिला गर्नु हुँदैन ।
ननस्टप खबर यस विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ । घाइतेको शिघ्र स्वास्थ्य लाभ र वेपत्ताको सकुशलताको कामना गर्दछ । यस विपदलाई एकजुट भएर सामना गर्दै हामी अवश्य उठ्नेछौं ।







