काठमाडौँ । हिजो भोटेकोसीमा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल छ । यद्यपि, यी नदीमा अझै पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तलै छ।
आगामी तीन दिन देशका केही प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ। सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्मै पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ।
यसैगरी, सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य मात्र बढ्ने प्रक्षेपण छ।
आज देशका विभिन्न जिल्ला भई बग्ने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्की जिल्लाका स-साना नदीमा बाढीको जोखिम रहेको महाशाखाले स्पष्ट पारेको छ।
यसका साथै, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बग्ने नदीहरूमा पनि बहाव बढ्ने बताइएको छ। ‘यी क्षेत्र भई बग्ने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ’ बुलेटिनमा उल्लेख छ, ‘यहाँ आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
यसैगरी, भोलि र पर्सी भने विशेषगरी गण्डकी र लुम्बिनी प्रदेश भई बग्ने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।







