कुलमानबारे पार्टीमा रविको ब्रिफिङ : हरेक दिन नयाँ भाग मागेको माग्यै गरेपछि अघि बढ्न सकिएन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

भर्चुअल माध्यमबाट केहीबेरअघि सुरु भएको रास्वपाको आकस्मिक सचिवालय बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।

सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ । उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो ।

‘हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने हुन थाल्यो । नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि हामी अब अघि बढ्न नसक्ने भयौं,’ रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकलगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ ।