सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का लागि पार्टीतर्फबाट सिफारिस उम्मेदवार मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा बोल्दै बस्नेतले राजनीतिक परिवर्तनका लागि सधैं निर्णायक भूमिकामा रहेको कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई आत्मसात गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।
“जेनजेड आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ। सरकार आफैं निर्वाचन गराउने अवस्थामा पुग्न सकेको छैन, दिग्भ्रमित भएको छ,” उनले भने।
उनले राजनीतिमा उमेरभन्दा पनि क्रियाशीलता महत्त्वपूर्ण हुने उल्लेख गर्दै जनतालाई आवश्यक पर्दा हराउने व्यक्ति युवा भए पनि नेता बन्न उपयुक्त नहुने धारणा राखे।
“मैले कांग्रेसको राजनीति गरेको ४९ वर्ष भयो। मन्त्री हुँदा ३९ वटा स्वास्थ्य चौकी बनाएको छु। प्रदेशबाट पनि योजना परेको छ। जिल्लाका सबै समस्यामा म क्रियाशील हुनेछु,” उनले भने।
नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हक मानेको उल्लेख गर्दै उनले सबै नागरिकलाई निशुल्क व्यवस्था हुनुपर्नेमा जोड दिए। आगामी निर्वाचनपछि देशमा सरकार जो बने पनि सिन्धुपाल्चोकमा नेपाली कांग्रेसकै सरकार हुने दाबी गरे।
“हरेक विपत्तिमा हामी जनताको घरदैलोमा पुगेका छौं। विदेशबाट कोरोना खोप ल्याएर उपचारको व्यवस्था गरेका छौं। जिल्लामा नेपाली कांग्रेस पहिलो स्थानमा छ। हरेक तहमा एकलौटी वर्चस्व छ। गठबन्धनका कारण अरूले हामीबाट फाइदा लिएका हुन्,” उनले भने।
बस्नेतले जेनजेड आन्दोलनबाट मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै आन्दोलनमा विभिन्न शक्ति केन्द्रको स्वार्थ र घुसपैठका कारण हिंसात्मक घटना भएको दाबी गरे।
“देशको झण्डा ओडेर हिंसात्मक घटना र आगजनी भएको छ। भदौ २४ गतेको आन्दोलनमा विभिन्न राजनीतिक दलको संलग्नता छ। जेनजेडको नाममा लुटपाट र आगजनी गरिएको छ। तीमध्ये केही सिन्धुपाल्चोककै हुन्। उचित समयमा नाम सार्वजनिक हुन्छ। घर र सम्पत्तिमा आगो लगाउँदैमा राजनीतिक चेत मर्दैन,” उनले भने।
पदमा पुगेपछि काम गर्छु भन्ने प्रवृत्तिको आलोचना गर्दै उनले विगतमा गरेको कामका आधारमा मतदान गर्न आग्रह गरे।
बागमती प्रदेश कार्यसमिति सदस्य तथा पूर्वप्रदेश मन्त्री मसिना खड्का भण्डारीले जेनजेड आन्दोलनका कारण २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ फागुनमा सरेको बताइन्। उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउँदै विकास र समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गरिन्। कोरोनाको महामारीमा समेत मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गरेको र सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको उनको भनाइ थियो।
पार्टीका जिल्ला उपसभापति टंक कार्कीले नेपाली कांग्रेसले मात्रै देशलाई विकास र निकास दिन सक्ने बताए। उनले सिन्धुपाल्चोकमा पार्टीले धेरै सकारात्मक काम गरेको र जनताका हरेक समस्या समाधानमा मोहनबहादुर बस्नेतले ध्यान दिएको उल्लेख गरे।
जिल्ला सचिव भक्तध्वज बोहराले फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनका लागि देशभर नेपाली कांग्रेसले गर्ने सभामध्ये यो पहिलो सभा भएको बताए। उनले हार–जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए।
प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार तथा महासमिति सदस्य डा. प्रेमध्वज लामाले नेपाली कांग्रेसले मुलुकलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउने बताए। प्रहरीद्वारा विद्यार्थीमाथि आक्रमण र अशान्ति फैलाएर सुशासन र स्थायित्व सम्भव नहुने उनको भनाइ थियो।
प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार यास्मिन ढुंगानाले स्टन्ट र गालीगलौजभन्दा जनताले चाहेको विकास महत्वपूर्ण हुने बताइन्। जनताप्रति गरिएको काम नै राजनीतिक मूल्याङ्कनको आधार हुने उनको भनाइ थियो।
प्रतिनिधिसभाका लागि सिफारिस समानुपातिक उम्मेदवार तथा पार्टी उपसभापति दोर्जे लामाले देशलाई एकताबद्ध गर्दै राजनीतिक निकास दिन नेपाली कांग्रेसले मात्रै योगदान गर्न सक्ने बताए। पार्टी एक ढिक्का भएर अघि बढे अत्यधिक मतले निर्वाचन जित्ने उनले दाबी गरे।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापाले निरंकुश व्यवस्थाविरुद्ध आवाज उठाउन कांग्रेस स्थापना भएको उल्लेख गर्दै जनतालाई अधिकारसम्पन्न बनाउन पार्टीले महत्त्वपूर्ण योगदान दिएको बताए।
राष्ट्रियसभाका लागि सिफारिस उम्मेदवार तथा महासमिति सदस्य भोला बोहराले नेपाली कांग्रेसलाई मतदान गरे जनताले अनावश्यक दुःख नपाउने दाबी गरे।
क्षेत्र नं. २ का सचिव विष्णु घोरासैनीले जिल्लाको मात्र नभई देशकै विकासमा मोहनबहादुर बस्नेतको योगदान महत्त्वपूर्ण रहेको बताए।
मेलम्ची नगरपालिकाका सभापति बसन्त गुरुङले बाढीपहिरो, कोरोना महामारीलगायत संकटका बेला मोहनबहादुर बस्नेतले निरन्तर साथ र सहयोग गरेको बताए।
बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष केदार क्षेत्रीले शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा बस्नेत सधैं अब्बल रहेको बताए।
महिला संघकी केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारीले योग्य उम्मेदवारलाई विजयी गराएर स्थानीय विकासलाई गति दिनुपर्नेमा जोड दिइन्।
क्षेत्र नं. १ का सचिव सञ्चवीर तामाङले विगतमा गठबन्धन गर्दा पार्टी र स्थानीयलाई समस्या परेको बताए।
कार्यक्रममा बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिका वडा नं. ५ बाट विभिन्न व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।







