ललितपुर । साहित्यकार मदनराज ताम्राकारद्वारा लिखित आत्मकथात्मक कृति ‘अतीतको झझल्को’ सार्वजनिक गरिएको छ।
ललितपुरको जावलाखेलमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले पुस्तक विमोचन गरे।
जीवन, संघर्ष र स्मृतिको दस्तावेज
‘अतीतको झझल्को’ पुस्तकमा लेखक ताम्राकारका जीवनअनुभव, जागिरे जीवनका भोगाइ, देश–विदेश भ्रमणका संस्मरण तथा आत्मकथ्यपरक निबन्धहरू समेटिएका छन्।
नेपाल बैंकदेखि एभरेष्ट बैंकसम्मको लामो सेवा अवधिमा उनले भोगेका सामाजिक, पारिवारिक र व्यावसायिक अनुभव पुस्तकको मूल विषयवस्तु बनेका छन्।
मध्यम वर्गीय नेपाली समाजको जीवन्त चित्र
पुस्तकको ‘उषाकाल’ निबन्धमा बाल्यकाल, पितापुर्खा, ठूलो परिवारभित्रको मर्यादा, खानपान र अभावग्रस्त जीवनशैलीको मार्मिक चित्रण छ। दशैं, बिहे र चाडपर्व कुरेर मात्रै राम्रो खाने–लाउने तत्कालीन बालमनोविज्ञानलाई लेखकले जीवन्त ढंगले प्रस्तुत गरेका छन्।
डेढ वर्षे बहिनी झ्यालबाट खसेको घटना, आमाको आत्तिएको अवस्था र बुवाले बोकेर अस्पताल पुर्याएको दृश्यले पाठकलाई भावुक बनाउँछ। त्यसपछि ‘बिरामी परे माया पाइन्छ’ भन्ने चार वर्षे बालकको निष्कर्ष बालमनोविज्ञानको सशक्त उदाहरण बनेको छ।
प्रेम, परिवार र सामाजिक द्वन्द्व
‘बादल पछाडिको तारा’ निबन्धमा फुपूले सहकर्मी बङ्गाली युवासँग प्रेमविवाह गर्दा करिब सात दशकअघि परिवारमा मच्चिएको हलचल र पछि कलकत्तामा भेटिएको आत्मीय सम्बन्धको कथा समेटिएको छ।
पुख्र्यौली पेसा, बुवाको संघर्ष, होटल व्यवसायको असफलता र जीवनका उतार–चढाव ‘जिन्दगीका तरङ्गहरू’मा चित्रित छन्। ‘समर्पण’ र ‘बालबाल बचें’ निबन्धमा छोराछोरीको पढाइ, बैंकको जागिर र व्यक्तिगत संघर्षका कथाहरू छन्।
यात्रा, विपद् र पीडाका संस्मरण
पुस्तकमा अस्ट्रेलिया यात्रा, नेपालको भूकम्पीय प्रलय, माओवादी द्वन्द्वकालीन सिमराका स्मृति, जङ्गल यात्रा, अस्पताल र मृगौला प्रत्यारोपणसम्बन्धी मार्मिक निबन्धहरू समेटिएका छन्। चेन्नईमा आमाको मृगौला प्रत्यारोपण असफल भएपछि आएको पीडाले पुस्तकलाई अझ भावनात्मक बनाएको छ।
प्रेरणादायी आत्मकथात्मक लेखन
विद्यालय जीवनमा टुँडिखेलको मार्चपासका क्रममा देखिएको सामाजिक असमानता, हीनताबोध र त्यसबाट प्रेरणा लिएर अध्ययनमा अघि बढेको कथा पुस्तकको बलियो पक्ष हो। डा. अम्बेडकर र अब्राहम लिंकनजस्ता संघर्षशील व्यक्तित्वसँग सन्दर्भ जोडेर लेखकले आत्मबल र धैर्यको सन्देश दिएका छन्।
वक्ताहरूको धारणा
कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराईले अवकाशपछिको जीवनलाई सृजनात्मक बनाउँदै समाजका लागि जीवनअनुभवलाई दस्तावेजीकरण गरिएको बताए। यो कृति परिवार मात्र नभई ताम्राकार समाज र समग्र नेपाली समाजकै साझा सम्पत्ति हुने धारणा व्यक्त गरियो।
समालोचक तेजविलास अधिकारीले पुस्तकले इतिहास र साहित्य दुवै माध्यमबाट समाजलाई प्रेरणा दिने बताए। विजयकुमार गौतमले संस्मरण साहित्यको नेपाली साहित्यमा छुट्टै महत्त्व रहेको उल्लेख गरे।
प्रकाशक किर्तनराज ताम्राकारले पुस्तक आफ्नो पिताको जीवनसंघर्ष र प्रेरणाको प्रतिबिम्ब भएको बताए। प्राध्यापक डा. कुमार कोइरालाले पुस्तकमा १४ शीर्षकमा नेपाली सामाजिक परिवेशका जीवन्त कथाहरू समेटिएको बताए।







