माओ दिवसको अवसरमा क्रान्तिकारी शक्ति एकतावद्ध बन्न प्रचण्डको अपिल

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायप्रति एकतावद्ध हुन अपिल गरेका छन्।

माओ दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र जनजीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन्।

यस्तो परिस्थितिमा अध्यक्ष माओका विचार, संघर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको सन्देशमा भनिएको छ।

सन्देशमा माओत्सेतुङले प्रतिपादन गरेको जनताको स्वामित्वमा आधारित लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र उत्पीडित वर्गको मुक्तिको मार्ग आजको व्यावहारिक मार्गदर्शनका रूपमा रहेको उल्लेख छ।

माओले देखाएको बाटो इतिहासको विषय मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा, आत्मनिर्भर अर्थतन्त्र निर्माण र वास्तविक लोकतन्त्र स्थापनाको वर्तमान मार्ग भएको दाबी गरिएको छ।

प्रचण्डले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको जनाउँदै यस प्रक्रियाले वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धता अझ सुदृढ बनेको बताएका छन्।

मार्क्स, लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानको संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको कार्यभार भएको सन्देशमा उल्लेख छ।

सन्देशमा अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल नहुनेमा जोड दिइएको छ। विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढतालाई नै माओ दिवस मनाउनुको वास्तविक अर्थका रूपमा व्याख्या गरिएको छ।

माओ दिवसको अवसरमा प्रचण्डले मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन अपील गरेका छन्। माओप्रति श्रद्धासुमन अर्पण गर्दै सबैमा शुभकामना व्यक्त गरिएको छ।

 माओत्सेतुङको योगदान
माओत्सेतुङ (१८९३–१९७६) चिनियाँ कम्युनिस्ट क्रान्तिका प्रमुख नेता तथा विश्व कम्युनिस्ट आन्दोलनका प्रभावशाली विचारक हुन्। माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घ जनयुद्धमार्फत सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गर्‍यो।

माओले किसान वर्गलाई क्रान्तिको मुख्य आधारका रूपमा विकास गर्दै मार्क्सवाद–लेनिनवादलाई चिनियाँ यथार्थअनुसार रूपान्तरण गरे, जसलाई माओवादका रूपमा चिनिन्छ।

दीर्घकालीन जनयुद्धको सिद्धान्त,बन्दुकको नालबाट मात्र सर्वहारा अधिनायकत्व प्राप्त हुने नीति, नयाँ जनवादी क्रान्तिको अवधारणा, जनतामाथि भरोसा गर्ने राजनीतिक पद्धति र आत्मनिर्भर राष्ट्रिय विकासको सोच माओका प्रमुख योगदान मानिन्छन्।

विचार र व्यवहारको एकता, वर्गसंघर्षको निरन्तरता र समाजवादी संक्रमणकालमा क्रान्तिकारी सतर्कताको आवश्यकता सम्बन्धी उनका विचारहरूले विश्वका विभिन्न मुक्ति आन्दोलनलाई प्रेरणा दिएका छन्। उनकै बिचारबाट प्रेरित रही प्रचण्डको नेतृत्वमा नेपालमा पनि तत्कालीन नेकपा (माओवादी)ले दस वर्ष जनयुद्ध गरि समाजवादको ढोका खोल्न सफल भएको छ ।