प्रचण्डको स्वास्थ्य बाहिर चर्चा भएजस्तो गम्भीर नरहेको पुष्टि

पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था बाहिर चर्चा भएजस्तो गम्भीर नरहेको पुष्टि भएको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनमा प्रचण्डलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ।

चिकित्सकीय परीक्षणका क्रममा उनलाई हल्का निमोनिया संक्रमण देखिएको र त्यसअनुसार उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

 “आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ र उहाँको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ।” अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला अस्पतालले जारी गरेको बुलेटिनले अवस्था सामान्य रहेको बताएको छ।

पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न र चिकित्सकीय निगरानीका लागि उनलाई थप दुईदेखि तीन दिन अस्पतालमै राखिने अस्पताल प्रशासनले जनाएको छ।