माओवादी धारसहितका सबै वामपन्थी शक्तिहरू एकतावद्ध बन्न प्रचण्डको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्।

देशले सामना गरिरहेका जटिल समस्या, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौती समाधान गर्न अब वामपन्थी एकता अपरिहार्य भएको प्रचण्डले बताएका छन्। उनका अनुसार राष्ट्रका संकटहरूको समाधान अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।

प्रचण्डले वामपन्थी संगठनबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य आजको आवश्यकता भएको उल्लेख गर्दै संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई साझा राष्ट्रिय मोर्चामा गोलबन्द हुन पनि अपिल गरेका छन्।