नयाँ पुस्ताको हुरीले शासक दलहरूलाई दुई दिनमै उडाइदियो : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख एवं नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले हालै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दुई दिनमै सत्तारूढ दलहरूलाई उडाइदिएको टिप्पणी गरेका छन् ।

खोक्रो रुख एक धक्कामै ढल्ने भन्दै उनले भने, “खोक्रो भएका शासक दलहरू दुई दिनमै ढले ।” नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलहरू भ्रष्टाचारमा डुबेर सिद्धान्त र नैतिकताबाट भट्किएका हुनाले उनीहरूको सत्ता ढलेको मेयर प्रजापतिले बताए । “नयाँ पुस्ताको हुरीले उनीहरूलाई दुई दिनमै उडाइदियो।” उनले भने ।

भक्तपुर–७ बाट नागरिकताका लागि सिफारिस भएका नयाँ युवाहरूलाई सम्बोधन गर्दै मेयर प्रजापतिले नागरिकता व्यक्ति र राज्यबीच जोडिने दस्तावेज भएकाले जथाभावी नागरिकता वितरण गर्न नहुने बताए। उनले भने, “विदेशीले नागरिकता पाए भने नागरिकको हक खोसिन्छ।”

१६ वर्षमै नागरिकता पाउने तर १८ वर्षमा मात्र मताधिकार पाउने कानुनी व्यवस्थाले हजारौं युवालाई मताधिकारबाट वञ्चित बनाएको र त्यो सच्याउन पर्ने उनले आवश्यकता औल्याए ।

प्रजापतिले विदेशमा बस्ने युवालाई मताधिकार दिने कुरा सैद्धान्तिक रूपमा राम्रो भए पनि नेपालको आर्थिक र प्राविधिक क्षमता त्यसका लागि पर्याप्त नरहेको बताए।

उनले युवाहरूलाई निरन्तर मेहनत र परिश्रम गर्न प्रेरित गर्दै भने, “सजिलो होइन, गाह्रो काम गर्न अग्रसर हुनुपर्छ। अहिलेका युवामा सजिलो काम आफूले गर्ने र गाह्रो अरूलाई छोड्ने बानी छ, त्यो उल्टाउनुपर्छ। अहिले सजिलो खोज्नेले भविष्यमा दुःख भोग्छन्।”

भक्तपुर–७ का वडाध्यक्ष  उकेश कवांले नागरिकता प्राप्त गर्न मात्र नभई नागरिक भावना जागृत गर्न पनि जोड दिए । देशमा आजसम्मका परिवर्तनहरू धेरै अग्रजको रगत र पसिनाको फल भएको भन्दै नयाँ पुस्ताले त्यसको सम्मान गर्न्सक्नुपर र रास्ट्रवादी धारमा सधै हिड्नुपर्ने बताए ।

सो अवसरमा अधिवक्ता पुरुषोत्तम ग्वाछाले नागरिकताको प्रकार र यसको महत्त्वबारे प्रष्ट्याउँदै युवाहरू स्वेच्छाचारी बने दुर्घटनामा पर्न सक्ने चेतावनी दिए। उनले युवाहरूले विभिन्न विषयमा प्रशिक्षण लिनुपर्नेमा जोड दिएका थिए ।