भक्तपुर । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समिति बैठकले नयाँ पुस्तालाई समाजवादबारे शिक्षित गर्दै जानुपर्नेमा जोड दिएको छ । सोमबार राति भक्तपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले नयाँ पुस्तालाई समाजवादबारे बुझाउन नसक्नु कमजोरी भएको भन्दै समाजवादको प्रचारप्रसारमा जोड दिएको हो ।
साम्राज्यवादको पतन तथा समाजवादको विजय अवश्यम्भावी भएको र नयाँ पुस्तालाई लक्षित गर्दै यसबारे बिभिन्न कार्यक्रम गरी शिक्षित गर्दै जाने विषयमा बैठक एकमत भएको केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको भनाइ छ । युवा पुस्तासंगै जनतालाई राजनीतिक रूपले शिक्षित र संगठीत गर्नुपर्नेमा जोड दिंदै बैठकले मजदुर आन्दोलनमा देखा परेका पुजीवादी विचारको खण्डन हुनुपर्ने आवश्यकता औल्याएको बताइएको छ ।
आठौ महाधिवेशनपछिको तेस्रो र प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको पहिलो केन्द्रीय समिति बैठकमा नेमकिपाको एकमात्र अविजित भक्तपुर-१ को पराजय र समग्र निर्वाचन परिणाम माथि पनि ब्यापक छलफल भएको थियो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई मतदिने सम्पूर्ण नेपाली जनतालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी गराए ।
”बैठकमा सबै जिल्ला, पालिका र वडा पार्टी समितिहरूमार्फत स्थानीय जनताको भेला राखी नेपाल मजदुर किसान पार्टीलाई अमूल्य मत दिएकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय भयो ।” गोसाईले भने ।
बैठकले १३७औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिल्ला,पालिका र वडा पार्टी समितिहरूसम्म पार्टी प्रकाशनबारे अध्ययन र छलफल गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य गोसाईले बताएका छन् ।
त्यस्तै, बैठकले भेनेजुयला र इरानमा ट्रम्प प्रशासनको आक्रमणको विरोध एवम् भत्र्सना गर्नुका साथै क्युवाविरुद्ध अमेरिकी ट्रम्प प्रशासनको नाकाबन्दीको समेत विरोध गरेको गोसाईले बताएका छन् ।
बैठकमा पार्टी अध्यक्ष बिजुक्छेंले पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रियामा जोड दिएका थिए । अध्यक्ष बिजुक्छेंले देशको बदलिएको राजनीतिक परिवेशमा नेमकिपा थप चनाखो हुनुपर्ने आवश्यकता औल्याउदै पार्टी कमिटी, जनवर्गीय एवम् पेशागत संगठनहरूको थप सक्रियतामा जोड दिए ।
शुभ लाभ हेरेर सक्रिय हुनेहरु नेमकिपाका कार्यकर्ता नहुने भन्दै उनले पार्टी सिद्धान्तअनुसार जिम्मेवार कार्यकर्ताको रुपमा सक्रियता देखाउनुपर्ने बताए । उनले नेपालका शासक दल भ्रष्टाचारमा डुबेको मौका पारी अमेरिकी र भारतीय सरकारको संलग्नतामा भदौं २३ र २४ गते उपद्रव मच्चाइएको टिप्पणी गरे। भित्री एवं बाहिरी प्रतिक्रियावादीहरुले जालझेल गरेर निर्वाचनमा जनताका असल प्रतिनिधिलाई पराजित गरेको निष्कर्ष सुनाउदै अध्यक्ष बिजुक्छेंले यसबाट नेताकार्यकर्ताले पाठ सिक्नुपर्ने र थप सचेत भएर देश र जनताको सेवामा लाग्नुपर्ने बताएका थिए ।
बैठकले नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले प्रस्तुत गरेको पार्टी प्रतिवेदन सुझावसहित पारित गरेको बताइएको छ । प्रतिवेदनमाथिको बृहत छलफलका कारण बैठक तीनदिनसम्म लम्बिएको थियो । बैठकमा ४० बढी केन्द्रीय सदस्यको सक्रिय सहभागिता जनाएका थिए ।







