भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा भक्तपुर–१ का उम्मेदवार प्रेम सुवालले फागुन २१ गते हुने निर्वाचनमा जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरेका छन्।
उनले नयाँपनको नाममा गलत विकल्प रोज्नु भविष्यका लागि घातक हुनसक्ने सुझाव दिँदै तिर्खा लाग्यो भन्दैमा विष पिउन नमिल्ने उदाहरण प्रस्तुत गरे।
आफ्नो पार्टी नेमकिपाले नेतृत्व गरेको भक्तपुर नगरपालिकाले विद्यालय, कलेज र अस्पताल स्थापना गरी भक्तपुरका नागरिक मात्र नभई देशभरका ७७ जिल्लाका जनतालाई कम शुल्कमा सेवा दिँदै आएको उनले उल्लेख गरे । ख्वप विश्वविद्यालय स्थापना गरि अत्यन्तै सस्तो शुल्कमा एमबीबीएस लगायत उच्च शिक्षा दिलाउन पहल गरिरहेको पनि उनले स्पष्ट पारेका छन् ।
उनले यस्ता जनमुखी सेवा अन्य दलबाट प्राप्त हुनसक्ने कि नसक्नेबारे मतदाताले मनन गर्नुपर्ने बताए।
उनले विदेशी स्वार्थ र दबाबमा आधारित राजनीतिबाट सचेत रहन आग्रह गर्दै देश र जनताको सेवामा आधारित पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरे। सुवालले निर्वाचनमा नेमकिपाको चुनाव चिह्न ‘मादल’मा मतदान गरी सम्पूर्ण उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे।
यस अघि दुई पटक भारी मतान्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित सुवाल प्रतिनिधि सभामा एक्लै भए पनि जनताको समस्या राख्न छोडेनन् । तर, उनलाई प्रतिनिधि सभामा सधै प्रतिपक्षी रहने र सत्तासंग नजिक नहुने आरोप छ ।
यस पटक उनलाई भक्तपुर नगरबासी नै रहेका वरिष्ठ अधिवक्ता हरिराम लवजुले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रही चुनौती दिएका छन् भने रास्वपाका रुकेश रन्जितले नेमकिपाको बिरासत ढालेरै छोड्ने बताइरहेका छन् ।
यता, चाँगुनारायण क्षेत्रमा पनि पूर्व नगर प्रमुख सोमप्रसाद मिश्रले नेकपा एमालेबाट र राप्रपाबाट भरतबहादुर खड्काले रोक्ने प्रयास गरिरहेका छन् । दुई पटकका बिजेता सुवालसहित भक्तपुर-१ मा ३२ उम्मेदवार रहेका छन् ।







