
भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको छ महिनाको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी नवप्रवेशी शाखा अधिकृतहरूको टोलीले भक्तपुरका पुरातात्विक तथा सांस्कृतिक सम्पदासहित भक्तपुर नगरको विकास मोडल अवलोकन गरेको छ।
अवलोकनका क्रममा विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेकै कारण नगर ज्ञान–विज्ञानको केन्द्रका रूपमा विकास हुँदै गएको बताए।

“एक घर एक स्नातक” लक्ष्यसहित सञ्चालन गरिएका शैक्षिक संस्थाबाट देशभरका युवाले लाभ लिएको उनको भनाइ थियो।
उनले विदेशी ऋण र सहयोगमार्फत विकासको नाममा देश उपनिवेशीकरणतर्फ धकेलिन सक्ने खतरा औंल्याउँदै जनसहभागिता र जनश्रमदानबाट सम्पदा संरक्षण सम्भव भएको उदाहरण भक्तपुरले प्रस्तुत गरेको बताए।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले २०७२ को भूकम्पबाट क्षति पुगेका सम्पदामध्ये झण्डै ९० प्रतिशत पुनःनिर्माण जनसहभागितामै सम्पन्न भइसकेको जानकारी दिइन्।
नगरपालिका अस्पताल ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेस प्रताप मल्लले नगरपालिकाद्वारा सञ्चालित अस्पतालबाट न्यून शुल्कमै विशेषज्ञ सेवा उपलब्ध भइरहेको बताए।
भ्रमणको सहजीकरण भक्तपुर पर्यटक सेवा केन्द्रले गरेको गौतमप्रसाद लासिबाले जानकारी गराए । अवलोकन भ्रमणमा करिब १ सय जना सहभागी रहेका थिए ।








