अमेरिकी आक्रमणको बिरोध गर्दै मादुरो दम्पतीलाई सकुशल फिर्ता गर्न नेमकिपाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध र भर्त्सना गरेको छ। पार्टीको केन्द्रीय परिषद बैठकले सो सैन्य आक्रमणको बिरोध गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको पार्टी सचिव प्रेम सुवालले वक्तब्यमार्फत बताएका छन् ।

सचिव सुवालद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकाले जनवरी ३ मा स्थानीय समयअनुसार राति २ बजे भेनेजुएलामाथि गैरकानुनी र बर्बरतापूर्ण सैन्य आक्रमण गरेको आरोप लगाइएको छ। पार्टीले यस किसिमको आक्रमण अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको ठाडो उल्लङ्घन भएको ठहर गरेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भएपछि भेनेजुएलामा बोलिभेरियाली समाजवादी क्रान्ति अगाडि बढेको र त्यसपछि अमेरिका निरन्तर असन्तुष्ट हुँदै आएको उल्लेख छ।

संसारकै ठूला तेल भण्डारमध्ये एक रहेको भेनेजुएलाको प्राकृतिक स्रोत कब्जा गर्ने उद्देश्यले अमेरिकाले निर्वाचित राष्ट्रपति निकोलस मादुरोको सरकारविरुद्ध षड्यन्त्र गरिरहेको नेमकिपाको ठहर छ।

नेमकिपाले भेनेजुएलामाथि अमेरिकाले आर्थिक तथा व्यापारिक नाकाबन्दी लगाउँदै आएको र यसले त्यहाँका जनतालाई खाद्यान्न तथा स्वास्थ्य सेवाबाट समेत वञ्चित गरेको आरोप लगाएको छ। राष्ट्रपति मादुरोमाथि लगाइएका भ्रष्टाचारसम्बन्धी आरोपहरू आधारहीन र मनगढन्ते भएको पनि वक्तव्यमा उल्लेख छ।

पार्टीले अमेरिकालाई भेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप तत्काल बन्द गर्न, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न तथा भेनेजुएली जनताको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार आचरण गर्न अमेरिकी प्रशासनलाई चेतावनी दिइएको छ।

नेमकिपाले भेनेजुएलाको समाजवादी संघर्षप्रति विश्वका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै भेनेजुएला र ल्याटिन अमेरिकी क्षेत्रमा युद्ध होइन, शान्ति आवश्यक भएको दोहोर्‍याएको छ।

अमेरिका लगायत शक्तिशाली देशहरूले अन्य राष्ट्रको सार्वभौमिकता र आन्तरिक मामिलामा हस्तक्षेप गर्न तुरुन्त रोक्नुपर्ने नेमकिपाको माग छ।

 केन्द्रीय परिषद बैठकमा भेनेजुयलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादविरोधी संघर्षबारे नेमकिपाको अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले प्रशिक्षण समेत दिएका नेता सुरेन्द्रराज गोसाइँले जनाएका छन् ।