भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सचिव एवं भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले फागुन २१ को निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन् । निर्वाचनबाट जनताले देशभक्त र देशघाती छुट्याउनसक्नुपर्नेमा जोड दिदै उनले सोकुरा बताएका हुन् ।
सोमबार पत्रकार साक्षात्कार कार्यक्रमलाई कमलविनायकमा सम्बोधन गर्दै सुवालले नेमकिपाबाट १ सय २० क्षेत्रमा प्रत्यक्ष उम्मेदवार र १ सय ९ समानुपातिक उम्मेदवार रहेका भन्दै चेतनशील जनताले देशभक्त र जनताको असली सेवक पार्टी नेमकिपालाई रोज्नुपर्ने जिकिर गरे ।
उनले नेपालमा राणाशाही फाल्न १ शताब्दी र भारतमा अंग्रेजको शासन फाल्न २ शताब्दी लागेको स्मरण गर्दै नेपालका शासक दलहरुको अन्त्य पनि अवश्यमभावी रहेको बताए । उनले भ्रष्टाचारको विरोध र शुशासन माग गर्दै भएको जेनजी आन्दोलनले शासक दलको जग हल्लाइदिएको दावी गरेका छन् ।
उनले नेमकिपा अन्तर्राष्ट्रियबादमा बिश्वास राख्ने भएकोले अन्तरास्ट्रिय राजनीतिमा चासो र चिन्ता ब्यक्त गर्ने गरेको र नेपालमा एमसीसी अथावा कुनैपनि माध्यमको बिदेशी हस्तक्षेप अस्वीकार्य रहेको स्पष्ट पारे ।
साक्षात्कारमा सुवालले आफ्नो पार्टीको बहुमत पुगेका संविधान संशोधन गरी भ्रष्टहरुको सम्पत्ति राष्ट्रियकरण र भ्रष्टाचारीहरुलाई मृत्युदण्डको व्यवस्था गरिने बताए । त्यस्तै, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसंग लड्न हरेक युवालाई सैन्य तालिम दिइने उनले बताएका छन् ।
ब्यापारीसंग चन्दा लिएर नभई जनतासंग स्वेच्छिक सहयोग लिएर निर्वाचनमा सहभागी भैरहेको भन्दै उनले कतिपय उम्मेदवारले करोडौं खर्च गरेको मिडियामा आइरहदा पनि कारवाही नहुनु दुखद भएको बताए ।
उम्मेदवार सुवालले नेमकिपाको नेतृत्व रहेको भक्तपुर नगरपालिका सुशासन र बिकासनिर्माणको नमूना भएको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षण र विकासनिर्माणमा भक्तपुरले मोडेल बनाएको र यसलाई निरुत्साहित गर्न शासकहरु लागिरहेको उनको आरोप छ । ख्वप विश्वविद्यालयलाई रोकेर नेमकिपाको जनपक्षीय काममा बाधा पुर्याउने बदनियत रहेको उनले बताए ।
उनले मतदातालाई शासक दलले घोषणा पत्र देखाउने तर कहिल्यै पूरा नगरी धोका दिने गरेका आरोप लगाउदै नेमकिपा भने घोषणा पत्रमा भनेका बाचा पूरा गर्ने पार्टी भएको दावी गरे ।
भक्तपुर क्षेत्र नं १ मा उनीसहित विभिन्न दल र स्वतन्त्र गरि २५ उम्मेदवार रहेका छन् ।






