छठ पर्वको मुख्य दिन आज, यस्तो छ छठी माताको स्वरुप र पूजा विधि

chhath
chhath

काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् ।

सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ।

chhath
chhath

छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी छठी मैयाको पूजा आराधना गरिन्छ। यस पर्वको धार्मिक मान्यता अनुसार सूर्य भगवान र छठी माता जीवनदायिनी शक्ति हुन्, जसको उपासना गर्नाले स्वास्थ्य, समृद्धि र सन्तान सुख प्राप्त हुन्छ।

ब्रतालुले आइतबार साँझ ‘रसियाव–रोटी’ ग्रहण गरेपछि निराहार र निर्जल बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिए। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि व्रत समापन गरिने छ।

छठमा अर्घको लागि बाँसको टोकरी वा माटोको ढकनामा ठकुवा, भुसुवा, केरा, सन्तला, उखु, नरिवल, अदुवा लगायतका फलफूल र परम्परागत प्रसादहरू राखिन्छ। यी प्रसादहरू शुद्धताका प्रतीक मानिन्छन् ।

chhath
chhath

छठी मैया (छठी माता) : सूर्यदेवकी शक्ति र लोकविश्वासकी आराध्य देवी

छठ पर्वमा छठी मैया वा छठी माता प्रमुख आराध्य देवी हुन्। हिन्दू धर्मशास्त्र र लोकपरम्पराअनुसार उनी सूर्यदेवकी भगिनी तथा प्रकृति शक्तिको प्रतीक मानिन्छिन्। छठ पर्वमा सूर्यदेवसँगै छठी मैयाको आराधना गरिन्छ, किनभने उनकै कृपाले सन्तान सुख, दीर्घायु, स्वास्थ्य र समृद्धि प्राप्त हुने विश्वास रहँदै आएको छ।

छठी मैयाको उत्पत्ति र धार्मिक विश्वास

पुराणहरूका अनुसार छठी मैया षष्ठी देवी हुन् — जसको अर्थ ‘छैटौँ दिनकी देवी’हो ।

शास्त्र अनुसार सृष्टिको आरम्भमा भगवान ब्रह्माले सन्तान र सन्तान रक्षा गर्नका लागि षष्ठी देवीको सृष्टि गरेका थिए। त्यसैले छठी मैया सन्तानकी रक्षाकर्त्री तथा जीवनदायिनी माताको रूपमा पूजिन्छिन्।

छठी मैयाको स्वरूप

छठी मैया प्रकृतिको रूप हुन् — सूर्य, जल, भूमि र वायुजस्तै जीवनका आधारभूत तत्वहरूमा विद्यमान शक्ति हुन् । उनी प्रायः बाँसको डालोमा फलफूल, ठकुवा, भुसुवा, उखु, नारिवल, केरा आदि अर्पणका रूपमा प्रतीकात्मक रूपमा पूजिन्छिन्।

लोकमान्यताअनुसार उनी सुनको आभा फैलाउने उज्यालो देवी हुन्, जसको आराधनाले अन्धकार, रोग, दुःख र दुर्भाग्य हट्छ ।

पूजा विधि र श्रद्धा

छठ पर्व चार दिनको हुन्छ । तेस्रो र चौथो दिन छठी मैयाको विशेष पूजा गरिन्छ। व्रतालु (मुख्यतः महिलाहरू) चार दिनसम्म शुद्धता, ब्रह्मचर्य र संयम पालन गर्छन्।

पहिलो दिन नहाय–खाय गरेर शरीर–मन शुद्ध पारिन्छ।

दोस्रो दिन खरना हुन्छ, सो दिन सख्खरले बनेको खीर रसियाव–रोटी खाइन्छ।

तेस्रो दिन अर्घ दिँदै अस्ताउँदो सूर्यसँगै छठी मैयाको पूजा हुन्छ।

चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रत समापन हुन्छ।