काठमाडौं गुह्येश्वरीमा छठका लागि भव्य तयारी

काठमाडौँ, १६ कार्तिक । छठको तयारीका लागि वाग्मती सफाइ महाअभियानको ३३८औँ हप्तामा गुह्येश्वरीअघिको नदी किनारमा सफाइ गरिएको छ । छठ पूजा समितिले निर्माण गरेको छठ घाट क्षेत्रमा सफाइ गरिएको हो । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट निर्माण गरिएको छ । आज बेलुकी छठको मुख्य कर्म अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

सफाइमा २४ संस्थाका ५०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३००औँ हप्ताको कार्यक्रम पनि गुह्येश्वरीमै गरिएको थियो । यसैगरी तिलगङ्गा, आलोकनगरलगायत स्थलका सफाइ अभियान पनि छठ पर्वको अवसर पारेर गुह्येश्वरीमै केन्द्रित भएको उनले जानकारी दिए ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, प्रदेशसभा सदस्यद्वय छिरिङदोर्जे लामा र रामेश्वर फुयाँल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख लीलाप्रसाद ढकाल, गुह्येश्वरी छठ समितिका पदाधिकारी लगायतले नदी सफाइ अभियानलाई प्रभावकारीरुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

गुह्येश्वरी नदी किनारमा यो हप्ता जन्मदिन परेका अभियानकर्मी सागर थापा, ओम बस्नेत र प्रमिला पौडेलको जन्मदिन पनि मनाइएको थियो । अभियानकर्मीले जन्मदिन परेको हप्ताको आज नदी किनारमा एउटा÷एउटा बिरुवा रोप्ने गरेका छन् ।

रुद्रमती सफाइको २९०औँ हप्तामा रातोपुल–मैतीदेवी मन्दिर–सेतोपुल क्षेत्रमा सफाइ गरी त्यस क्षेत्रमा रोपिएका बिरुवामा पानी हालिएको थियो । केही बिरुवा मर्न लागेकाले पानी हाली स्थानीयवासीलाई पानी हाल्नुका साथै रेखदेख गर्न अनुरोध गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए ।

विष्णुमती सफाइको २६५औँ हप्तामा विष्णुमती र साङ्ले खोलाको दोभान मनोहर तीर्थघाटमा सफाइ गरियो । सफाइबाट तीन टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेयले सुनाए । सफाइमा तीनवटै सुरक्षा निकायका साथै स्थानीय संस्थाका प्रतिनिधिको सक्रियता थियो ।

मनोहरा नदी सफाइको १३७औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । करीब १०० जना स्थानीयवासीको सक्रियतामा भएको सफाइबाट तीन टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले बताए ।

चक्रपथ उत्तर खण्ड सफाइको १३५औँ हप्तामा वसुन्धरा क्षेत्रमा सफाइ गरी तीन टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले सुनाए । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपपथ पश्चिम खण्ड सफाइको ११७औँ हप्तामा बाफल क्षेत्रको टोलटोलमा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले बताए । कलङ्कीबाट महाराजगञ्जको चक्रपथ बिस्तार शुरु भएकाले घर टोल चेतनामूलक सफाइ अभियानमा सक्रिय भएको उनको भनाइ थियो ।

ललितपुरको गोदावरी खोला सफाइको ३५औँ हप्तामा हाँडेगाउँ पुल क्षेत्रमा सफाइ गरियो । नेप्को नेपाल हरिसिद्धिको सहयोगमा चार टन फोहर व्यवस्थापन गरिएको संयोजक बेवी थापाले जानकारी दिए । सफाइमा स्थानीय महिला, युवालगायत संस्थाको पनि सक्रियता थियो ।

यसैगरी उपत्यकाको सुन्दरीघाटलगायत स्थानमा पनि वाग्मती सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार हुने गरेको छ । यसबाट प्रभावित भई हाल देशका १०५ भन्दाबढी स्थानमा सफाइ अभियान सञ्चालन भइरहेको छ ।

Loading...