
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियामा स्टन्ट गरेर जनतालाई भ्रमित पारेर नेता बन्ने प्रवृत्तिलाई ‘रोग’को संज्ञा दिँदै विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति गर्न आग्रह गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले उनले सोसल मिडियामा स्टन्टबाजी गरेर क्षणिक लोकप्रियता कमाउने र त्यसैका आधारमा जनतालाई भ्रमित पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
“सोसल मिडियामा स्टन्ट गरेरै नेता बन्न खोज्ने रोगजस्तै देखिएको छ,” उनले भने, “नेपाली कम्युनिस्ट पार्टी सही विचार र राजनीतिक स्पष्टताका आधारमा अगाडि बढ्न चाहन्छ।” उनले मेयरद्वय बालेन साह र हर्क साम्पाङलाई शहीदको रगतको मूल्य बुझ्न र लोकतन्त्रको फूल भएर फूल्न आग्रह गरेका छन् ।
प्रचण्डले फागुन २१ को निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिँदै निर्वाचन नै देशलाई वर्तमान सङ्कटबाट बाहिर निकाल्ने सबैभन्दा सहज र सुरक्षित बाटो भएको बताए।
“फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन बिथोल्ने काम कसैले नगरोस्,” उनले स्पष्ट पारे। देशको हितका नाममा एक पटक संविधान मिचिएको तीतो अनुभव स्मरण गर्दै उनले अब पटक–पटक संविधान मिच्ने काम भए सहेर नबस्ने चेतावनी दिए। उनका अनुसार विभिन्न बहानामा चुनाव धकेल्ने प्रयास भए नेकपा चुप लागेर नबस्नेछ र देशभर सडक आन्दोलनमा उत्रिनेछ।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर पुरानै सरकार बन्ने सम्भावनाबारे भइरहेको बहसलाई भ्रमपूर्ण ठहर गर्दै उनले त्यसमा नअल्झिन सबैलाई आग्रह गरे। देशमा एकथरी शक्तिले निर्वाचन विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले त्यसविरुद्ध आम नेपाली जनतालाई एकजुट हुन आह्वान गरे।
एकता सन्देश सभाको क्रममा पूर्वदेखि पश्चिमसम्म पुगेका बेला जनता निर्वाचनका लागि तयार भइरहेको र राजनीतिक दलहरू पनि तयारीमा जुटिरहेको देखिएको प्रचण्डको भनाइ थियो। यही अवस्थामा चुनाव टार्ने प्रयास देशलाई झन् अन्योल र जोखिमतर्फ धकेल्ने उनले बताए।
प्रचण्डले राजधानी काठमाडौँमै कम्तीमा एक लाख मानिस अटाउने खुला मैदान नहुनु लज्जास्पद विषय भएको टिप्पणी गरे। “५०–६० हजारदेखि एक लाखसम्म मानिस भेला भएर बस्न सक्ने ठाउँ नै छैन,” उनले भने, “नेपाल सरकार र महानगरपालिकालाई यो अवस्था अन्त्य गर्न म जोडदार आग्रह गर्छु।”
राजधानीमा विशाल सभा र जनप्रदर्शन गर्न खुला स्थल अनिवार्य रहेको उल्लेख गर्दै उनले खुला मञ्चहरू सुरक्षित र प्रयोगयोग्य बनाउन माग गरे।





