काठमाडौं । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ।
सिंहदरबारस्थित सम्पन्न बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेल सहभागी भए ।
त्यस्तै बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुुस्बु ओलीलगायतको उपस्थिति रहेको थियो।
बैठकमा बोल्दै नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए।
विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता चुनौतीपूर्ण परिस्थितिमा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै उनले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको धारणा राखे।
उनले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने उनको भनाइ थियो। बल प्रयोग दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र सबै पक्षलाई शान्ति तथा सद्भाव कायम राख्न आह्वान गरे।
एमाले महासचिव शंकर पोखरेलले मोरङ–सुनसरी क्षेत्रमा देखिएको अशान्तिको अवस्था नियन्त्रणका लागि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर निकास खोज्नुपर्ने भए पनि रास्वपा सभापति रवि लामिछानेले सक्रियता देखाएको सराहनीय रहेको बताए।
नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु राज्य र सरकारको पहिलो जिम्मेवारी भएको उनको भनाइ थियो।
नेपाली कांग्रेसका सभापति गगन थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा उपलब्धि भएकाले त्यसलाई जोगाइराख्न सबै पक्षले धैर्यता, संयमता र संवादलाई प्राथमिकता दिनुपर्ने बताए।
सुनसरी घटनालाई लिएर सबै नागरिक र राजनीतिक दललाई संयमित हुन आह्वान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संवेदनशील क्षेत्रमा पूर्वसजगता अपनाउन सरकारलाई आग्रह गरे।
सरकारको भूमिकामाथि प्रश्न उठाउँदै थापाले सरकारले केवल सुरक्षा बलको प्रयोग वा सामाजिक सञ्जालमा अभिव्यक्तिमै सीमित नभई अभिभावकीय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
“सरकार भनेको अभिभावक मात्रै होइन, लिडर पनि हो। उसले सबैलाई विश्वासमा लिएर परिस्थितिको निकास खोज्नुपर्छ,” उनले भने।
बैठकमा सहभागी नेताहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, सामाजिक सद्भावको संरक्षण तथा संवादमार्फत समस्याको समाधान खोज्न सबै राजनीतिक दल र सरोकारवालाले साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
बैठकले शान्ति र सद्भावका लागि सर्वदलीय अपिल सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।







