इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’

indira
indira

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति‌ले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ।

प्रजापतिले सामान्य परिवारमा जन्मेकी इन्दिराको जीवनमा आधारित फिल्मले इन्दिरा र उनको परिवार मात्र होइन, सम्पूर्ण भक्तपुरको गौरव बढाएको बताए। उनले ‘धिमे मैंचा’ फिल्मले भक्तपुरको सांस्कृतिक सम्पदालाई विश्वभर चिनाउने विश्वास व्यक्त गरे।

फिल्म सफलताको शुभकामना दिँदै प्रजापतिले देशभित्र र विदेशमा रहेका नेपालीहरूलाई फिल्म हेरेर सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा इन्दिरा लाछिमस्यूलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। मुख्य निर्माता गोपालकृष्ण महर्जनले उपस्थित सबैलाई स्वागत गरे भने निर्माता सुरेन्द्र तुलाधरले फिल्म निर्माणको उद्देश्यबारे जानकारी दिए।

फिल्ममा एक समय महिलाले बाजा बजाउँदा समाजले कसरी हेप्थ्यो, अपमान गर्थ्यो र हेय दृष्टिले हेर्थ्यो भन्ने यथार्थ प्रस्तुत गरिएको छ। रुढीवादी सोचविरुद्ध संघर्ष गर्नुपर्ने सन्देश फिल्मले स्पष्ट दिन्छ।

करिब दुई घण्टा लामो यो फिल्म दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने खालको बनेको छ। अधिकांश दृश्य इन्दिराको जन्मस्थल भक्तपुरमै छायांकन गरिएको छ, जहाँ इन्दिराको जीवनसँगै भक्तपुरका सम्पदाहरू पनि आकर्षक रूपमा प्रस्तुत भएका छन्।