
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्स चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको प्रतिस्पर्धी योगफल तयार पारेको थियो। लक्ष्य पछ्याउन मैदानमा उत्रिएको युएईले पुरै ओभर खेले पनि १३९ रनमै सीमित रहँदै पराजय व्यहोर्न बाध्य भयो।
नेपालका लागि ओपनर आसिफ शेख चम्किए। उनले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा ५१ रनको मूल्यवान् अर्धशतक प्रहार गरे। कुशल भुर्तेलले २८ रन जोडे भने कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले १४ रनको योगदान दिए।
बलिङतर्फ युएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक÷एक विकेट हात पारे।
यो जितसँगै सुपर सिक्स चरणमा नेपालको आत्मविश्वास झन् बढेको छ। नेपालले अब दोस्रो खेलमा अझै दृढ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।







