महोत्तरी र सर्लाही सम्पर्क समितिका पदाधिकारीलाई प्रमाणपत्र, प्रचण्ड भन्छन्- अर्को अभियान’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को सर्लाही–-काठमाडौं एवं महोत्तरी–काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरूलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ।

प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मधेसमा पार्टीको बलियो जनाधार भएपनि जनाधारलाई मतमा रूपान्तरण गर्न कठिनाइ भएको बताए । उनले मधेस अन्तर्गत महोत्तरी र सर्लाहीका नेताकार्यकर्ताबीचको खुट्टा तान्ने असहयोगी प्रवृत्तिलाई कमजोरीका रूपमा औंल्याए ।

“सम्पर्क समितिले नेताहरूलाई खबरदारी गर्ने र कार्यकर्ताहरूलाई एकीकृत गर्ने भूमिका निर्वाह गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने, “यहाँ अधिकांश युवा हुनुहुँदोरहेछ यसले मलाई उत्साहित बनाएको छ ।”

पार्टीले सञ्चालन गरेको अभियानका क्रममा महोत्तरी र सर्लाही पुग्दा स्थानीय सर्वसाधारणको आकर्षण अझ बढेको पाएको प्रष्ट पार्दै अध्यक्ष प्रचण्डले सबै मिलेर संगठन बिस्तार गरी पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले मधेसमा संगठन सुदृढीकरण गर्न केन्द्रबाट अर्को नयाँ अभियान लिएर जाने तयारी गरिरहेको पनि खुलासा गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि रहेका पूर्वमन्त्री एवं मधेस प्रदेश इन्चार्ज मातृका यादव तथा अतिथि रहेका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले समसामयिक राजनीतिक विषमा प्रशिक्षण प्रदान गरेका मधेस प्रदेशका पूर्व सचिव एवं युवा नेता राकेश थापाले जनाएका छन् ।

 पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज शिवराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्का केन्द्रीय सदस्य धनश्यामप्रसाद रजकले गरेका थिए ।

नेकपा माओवादी केन्द्रको सर्लाही-काठमाडौ सम्पर्क समन्वय समितिमा शम्भु नेपालको नेतृत्वमा ३१ सदस्यीय समिति गठन भएको छ भने महोत्तरी-काठमाडौ सम्पर्क समितिमा चन्द्रमोहन मिश्रको नेतृत्वमा ३६ सदस्यीय कार्यसमिति बनेको मधेस प्रदेशका युवा नेता राकेश थापाले जनाएका छन् ।