प्रचण्डले गरे पार्टीमा सामुहिक नेतृत्वको प्रस्ताव, देशकै नेतृत्व माओवादीको जिम्मेवारी भएको जिकिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज प्रज्ञा भवन कमलादीमा बसिरहेको छ । बैठकको शुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिलाई “शब्दातीत जटिल” भन्दै पार्टीलाई पुनः नवनिर्माण र देशको नेतृत्वमा अघि बढाउन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीमा सामूहिक नेतृत्वको प्रस्ताव गरेका छन् । उनले आफूले नेतृत्व हस्तान्तरण गर्न चाहेको र अब पार्टीलाई सबैको भावना समेट्नेगरी सामुहिक नेतृत्वमा लैजानुपर्ने आवश्यकता औल्याएका एक केन्द्रीय सदस्यले ननस्टप खबरलाई जानकारी दिए ।

शान्ति प्रक्रिया यता विगत १३ वर्षमा देखिएका विविध चुनौतीहरूको अनुभवका आधारमा वर्तमान संकटलाई कर्म र सामूहिक नेतृत्वबाट पार गर्न सकिने उनले धारणा राखेका बताइएको छ ।

बैठकमा नयाँ ढंगले पार्टी पुनर्गठन, संगठनात्मक सुदृढीकरण र राष्ट्रिय राजनीति नेतृत्व गर्ने खाका तय हुने अध्यक्ष प्रचण्डले बिश्वास ब्यक्त गरेका छन् । पार्टीभित्रको अनुभव, आत्मसमिक्षा र आगामी रणनीतिबारे निर्णायक बहस र निर्णयमा उनले जोड दिएका छन् ।

पार्टी भित्रको एकता र दृढ नीतिका माध्यमबाट माओवादी केन्द्रले फेरि एक पटक देशको नेतृत्व लिने दृढ विश्वासका साथ बैठक अगाडि बढेको केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए ।

“अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनको भावना अनुसार पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे स्पष्ट दिशानिर्देश गर्नुभएको छ ।” ढकालले भने, “पार्टीलाई छोडेर भाग्ने वा पलायन हुने छुट कसैलाई नभएको पनि अध्यक्ष प्रचण्डले प्रष्ट पार्नुभयो ।” 

जेन-जी आन्दोलन पश्चात् बसेको पार्टी पदाधिकारीको बैठकले पार्टीका सबै समिति भङ्ग गर्ने निर्णय गरी मंसिरमा विशेष महाधिवेशन गरी नेतृत्व चयनको बाटो तय गरेको छ । केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्दै नेतृत्वको ढाचा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।