काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेलगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लिखित प्रस्ताव पेश गरेका छन् ।
‘तरलतायुक्त परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा केही बुँदामा सहमति जुट्न नसकेकाले वैकल्पिक सुझावसहित राखिएको उपाध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।
उनले यसअघि पनि तीन पटक लिखित प्रस्ताव पेश गरिसकेको स्मरण गराउँदै अहिलेको प्रस्ताव फरक मत नभई पूरक प्रस्तावको रहेको उल्लेख गरे ।
बैठकमा अध्यक्ष र उपाध्यक्ष दुबैका प्रस्तावले पार्टीलाई आगामी विशेष महाधिवेशनतर्फ लैजाने प्रक्रियामा बहसलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।







