
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका जोरपाटीका आमाहरूले राहत सामग्री हस्तान्तरण गरेका छन् ।
जोरपाटी निवासी संगीता दाहाल, सबिता फुयाल, मनिषा सिग्देल, अलिशा बराल र देवकी बराललगायत आमाहरूको पहलमा बालबालिकालाई लक्षित गरी राहत सामग्री हस्तान्तरण गरिएको हो । उनीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रतिनिधि सुजनकुमारी बरदेवामार्फत प्रभावित बालबालिकाका लागि राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। विपद्का कारण बालबालिकाको दैनिक आवश्यकता, स्वास्थ्य, शिक्षा र सुरक्षामा समेत थप चुनौती देखिएको छ।
राहत सामग्री हस्तान्तरणपछि शिक्षकसमेत रहेकी संगीता दाहालले विपद्का बेला बालबालिकाको लागि थप हेरचाह र सुरक्षा आवश्यक रहेको बताइन् ।
“बालबालिकाका लागि आवश्यक सामग्रीको अभाव नहोस् र विपद्को कठिन समयमा उनीहरूलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सहयोग गरेका हौँ,” दाहालले भनिन्।
काठमाडौँकी अधिकारी सुजन कुमारी बर्दवाले सामुहिक एकता र सहकार्यले विपद विरुद्ध प्रतिकार्यमा सरकारलाई बल पुग्ने बताइन ।
बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था तथा स्वयंसेवकले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्। बालबालिकालाई केन्द्रमा राखेर सहयोग हुनु स्वागत योग्य भएको शिक्षा पत्रकार रोशन गाउँलेले प्रतिक्रिया दिएका छन् । बालबालिकाको ध्यान बाढी बिनाशबाट हटाउन शैक्षिक सामाग्री, साहित्यका पुस्तक र खेलौनाहरु सहयोग गर्नुपर्ने पत्रकार गाउँलेले आवश्यकता औल्याएका छन् ।
बाढीबाट तीन जिल्लामा करिब २ सय ५० बालबालिका बेपत्ता रहेको र १० हजार बालबालिका प्रभावित भएको विवरण सार्वजनिक भएको छ ।
