ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा

 

ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

महतले आफूलाई केवल उम्मेदवारको रूपमा मात्रै नभई संविधान परिमार्जन र प्रणालीगत सुधारको आवाजका रूपमा प्रस्तुत गरेका छन्। उनले भने, “दलतन्त्र नै लोकतन्त्र हो भन्ने धारणा अब अस्वीकार्य छ। पुराना दलहरुले नेता-तन्त्र थोपरे, जनता उपेक्षित भए। अब जनताकै शक्ति वैकल्पिक बाटो खोज्न तयार छ।”

महतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट देश चलाउने व्यवस्थालाई प्रमुख मुद्दाका रुपमा उठाएका छन्। अहिलेको प्रदेशसभाको स्वरूप र संरचना खर्चिलो र अप्रभावकारी भएको भन्दै उनले स्थानीय तहका प्रमुखलाई नै प्रदेशसभा सदस्यको भूमिका दिने विकल्प अघि सारेका छन्।

मुख्यमन्त्रीलाई पनि जनताबाट प्रत्यक्ष निर्वाचित गर्नुपर्ने प्रस्ताव महतले प्रस्तुत गरेका छन्। यसले जनप्रतिनिधि र कार्यकारी निकायबीचको दूरी घटाउने तर्क उनले राखेका छन्।

महतले आफ्नो जीत भएमा पहिलो प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कारबाहीलाई दिने घोषणा गरेका छन्। उनले भने, “देशलाई भ्रष्टाचारको आहाल बनाउने भ्रष्ट्राचारीलाई निर्मम कारबाही गर्न आवश्यक वातावरण तयार पार्नु मेरो पहिलो काम हुनेछ।”

पछिल्लो समयको जेन जेड आन्दोलनलाई महतले “पुरानो दलतन्त्रप्रतिको विस्फोट” भन्दै यसको मागलाई समर्थन जनाएका छन्। उनले भने, “जेन जेडले उठाएको आवाजले पुरानो शक्ति संरचनालाई चुनौती दिएको छ। यो नै वैकल्पिक शक्तिको जग हो।”

महतले राजधानीसँग जोडिएर पनि उपेक्षित दक्षिण ललितपुरको समस्या विशेष रूपमा उठाएका छन्। उनका अनुसार दक्षिण ललितपुरका तीन वटा गाउँपालिकालाई छुट्टै निर्वाचन क्षेत्र बनाउन पहल गर्ने घोषणा गरेका छन्।

त्यस्तै, उनले ललितपुरका ढुंगाखानी र क्रसर उद्योग राजनीतिक संरक्षणमा नभई उल्टै गैरकानुनी दोहनको चपेटामा परेको आरोप लगाएका छन्। उनले भने, “अर्बौंको लगानी भएको उद्योगलाई प्रशासन र सत्ता-सम्बद्ध व्यक्तिहरूले लुटेका छन्। यो क्षेत्रमा करिडोर व्यवस्थित गर्न र पुरातात्त्विक क्षेत्रलाई जोगाउन जरुरी छ।”

महतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा नभई वैकल्पिक राजनीतिक शक्तिको सुरुवातको रूपमा व्याख्या गरेका छन्। उनले भने, “स्वतन्त्र उम्मेदवारी अहिलेको आवश्यकता हो। तर यो मात्र होइन, हामीले बलियो वैकल्पिक शक्ति निर्माणमा लाग्नैपर्छ।”