पूर्व प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुको धारणा सुन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ।

पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्।

“अध्यक्ष प्रचण्डले सञ्चार माध्यमका सम्पादकहरूसँग खुला संवादमार्फत वर्तमान अवस्थाबारे धारणा लिने र आफ्नो दृष्टिकोण साझा गर्ने उद्देश्य रहेको छ।” प्रचार सचिव थापाले भने ।

जेनजी आन्दोलनपछि राजनीतिक वृतमा देखा परेका बहस, जनभावनाको उतार–चढाव र नेतृत्वप्रति बढ्दो प्रश्नहरूको पृष्ठभूमिमा प्रचण्डको यो भेटलाई महत्वपूर्ण मानिएको छ।

पार्टी स्रोतका अनुसार उनले आगामी राजनीतिक रणनीति, स्थायित्वका चुनौती र युवापुस्तासँगको सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल केन्द्रित गर्नेछन्।