
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले आफूले पत्रकारिता गर्दा प्रहरीको पिटाइ खानु परेको स्मरण गरेका छन् ।
रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले आफू पत्रकारिता क्षेत्रमा सक्रिय रहँदा राजनीतिक दलका गतिविधि रिपोर्टिङ गर्ने क्रममा तत्कालीन सत्ताका संरक्षक प्रहरीको लाठीप्रहार समेत सहनु परेको बताएका हुन् ।
“पत्रकारिता सजिलो पेशा होइन ।” उनले भने, ” जोखिम मोलेर पनि पत्रकारले साँचो कुरा बोल्न र लेख्न पछि पर्न हुँदैन ।” पत्रकार कर्तब्यनिष्ठ भए देश र जनताको भलो हुने उनको भनाइ छ ।
अध्यक्ष बिजुक्छेंले पत्रकारलाई इमानदार र अध्ययनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरित गर्दै भने, ” सही पत्रकारिता मार्फत समाजमा सकारात्मक परिवर्तन र रूपान्तरण सम्भव हुन्छ ।”
इतिहासमा महत्वपूर्ण घटनाहरूको यथार्थ अवस्थाबारे सुसूचित गराउन पत्रकारिताले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले पत्रकारिता सत्य र जनताको पक्षमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि भक्तपुरका अस्पतालसंगै प्रदेश भरीका अस्पतालमा थप सेवा बिस्तार गरेको जानकारी गराए । पत्रकारिता नराम्रो गर्दा खबरदारी र राम्रोमा प्रेरणाको माध्यम बन्नुपर्ने उनले बताए ।
रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सवको अवसरमा नियमितरुपमा प्रदान गरिँदै आएको विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो । नेमकिपाका अध्यक्ष बिजुक्छें र मन्त्री थापाले संयुक्त रूपमा ती पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा रफत क्रियाशील पत्रकारिता पुरस्कारबाट कैलाश खबरका सम्पादक विनोद विश्वकर्मा र राससका फोटो पत्रकार रत्न श्रेष्ठ पुरस्कृत भएका छन् ।
कल्पना स्मृति पुरस्कारबाट ख्वप अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. मनीष प्रधानांगलाई पुरस्कृत भए ।
साथै, पर्यटन व्यवसायी रामसुन्दर बके र रामी अवाललाई भक्तपुरको पर्यटन विकासमा पुर्याएको योगदानको कदरस्वरूप रफत सञ्चार क्लब मायाको चिनो प्रदान गरिएको क्लवकी सदस्य नविना खर्बुजाले बताइन् ।

रफतका अध्यक्ष सुशीलबन्धु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार भरतबन्धु थापाले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन सचिव नगेन्द्र सापकोटाको रहेको थियो ।








