
भक्तपुर । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिको सदस्य सचिव पदमा दिपक थापा नियुक्त भएका छन् । सोमबार नगर प्रमुख बासुदेव थापाले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन्।
सो अवसरमा नगर प्रमुख थापाले दिपक थापाले यस अघि खेलकुद क्षेत्रमा देखाएको सफल नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा समितिको सशक्त नेतृत्व गर्ने अपेक्षा गरे।“नगरपालिकाले उहाँमाथि ठूलो आशा राखेको छ” नगर प्रमुख थापाले भने, “उहाँको कार्यकालमा खेलकुदको क्षेत्रले विकासको फड्को मार्ने बिश्वास छ”
नगर सभामा उनलाई सदस्य सचिव बनाउने प्रस्ताव पारित भएपछि कार्यपालिका बैठकले सर्वसम्मतरुपले सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त सदस्य सचिव दिपक थापाले आफूप्रति गरिएको विश्वासलाई कायम राख्दै खेलकुद विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रकट गरे । सूर्यविनायक–५ निवासी थापा भलिबल खेलाडीसमेत हुन्।
उनले यसअघि जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। अध्यक्षका रूपमा कार्यरत रहँदा उनले भक्तपुरका चारै नगरपालिका सँग समन्वय गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरेका थिए। खेलाडीमैत्री व्यवहार र सबै खेल संघ-संस्थासँगको सहकार्यका कारण उनको कार्यकाल विवादरहित बनेको थियो।
अब सूर्यविनायक नगर खेलकुद विकास समितिको कार्यकारी प्रमुखको हैसियतमा सदस्य सचिवको रूपमा थापाको आगामी भूमिका र कार्यसम्पादनले नै उनको सफलताको मूल्यांकन गर्नेछ।







