पत्रकार महासंघको बैठक पोखरामा शुरू, आफ्नै सदस्यद्वारा अध्यक्ष शर्माको राजीनामा माग

पोखरा । नेपाल पत्रकार महासंघको नियमित बैठक शुक्रबार पोखरामा शुरु भएको छ। बैठक तीन वर्षे कार्ययोजना कार्यान्वयनसँग सम्बन्धित एजेण्डामा केन्द्रित रहेको छ।

बैठक सुरु हुनु अघिदेखि नै महासंघकी केन्द्रीय समिति सदस्य तथा दियो पोष्ट दैनिककी सम्पादक रिता बुढाथोकीले महासंघकी अध्यक्ष निर्मला शर्माको राजीनामा माग गरेकी छन् ।

उनले अध्यक्ष शर्मालाई मिडिया विरोधी व्यवहार देखाएको, प्रेस काउन्सिलसँग मिलेर पत्रकार र मिडियामाथि दबाब सिर्जना गरेको आरोप लगाउदै राजीनामा माग गरेकी हुन्।

“मिडिया बन्द गर्ने” मनसायले निर्णय लिएको भन्दै अध्यक्ष शर्मालाई उनले लिखित रूपमा जिम्मेवार ठहर गरेकी छन् । अध्यक्ष शर्माले राजिनामा दिनुपर्ने वा, सार्वजनिक माफी माग्दै सच्चिनुपर्ने बुढाथोकीले माग गरेकी बैठकमा सहभागी एक सदस्यले जानकारी गराए ।

यता अध्यक्ष शर्माले बैठकको सुरुवातमा विधान अनुसार सल्लाहकारहरूको अनुपस्थितिको विषयमा उठेका प्रश्नको जवाफ नदिए पनि, “हामीले जिम्मेवार पत्रकारिता गर्नुपर्छ,” भन्दै बैठकको एजेण्डामाथि प्रवेश गरेकी छन्।

उनले गत माघ २८/२९ गते धुलिखेलमा सम्पन्न दोस्रो कार्यमूलक बैठकबाट प्रस्तुत गरिएको तीन वर्षे कार्ययोजना कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको स्पष्ट पारिन्।

अध्यक्ष शर्माले पछिल्ला घटनाहरू — पत्रकार सुरेश रजक तथा नेपालखबरसँग सम्बन्धित राज्य वा अन्य पक्षबाट भएका प्रेस स्वतन्त्रता विरुद्धका गतिविधिहरूमा आफू साथमै रहेको दाबी गरिन्।

Nirmala sharma
Nirmala sharma

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार, बैठकमा संगठनात्मक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने, दोस्रो बैठकका निर्णयहरू कार्यान्वयन गर्ने, महासंघका गतिविधिहरू, आर्थिक अवस्था, श्रमजीवी पत्रकारका समस्या तथा सामाजिक सुरक्षा, मिडियामा देखिएको आर्थिक संकट, कार्यविभाजन तथा विभागहरूको पूर्णता लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।

FNJ
FNJ