सिड्नी, अस्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ऐतिहासिक कदम चाल्दै ओपनएआई र अस्ट्रेलियाली डाटा–सेन्टर अपरेटर नेक्स्टडीसीबीच सिड्नीमा अर्बौँ डलरको एआई पूर्वाधार निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दुवै कम्पनीले पश्चिमी सिड्नीमा अत्याधुनिक ‘एआई क्याम्पस’ र उच्च क्षमताको ‘जिपियु सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
नेक्स्टडीसीको S7 साइटमा बन्ने उक्त क्याम्पसलाई अस्ट्रेलियाको सबैभन्दा ठूलो एआई पूर्वाधार परियोजना मानिएको छ, जसको अनुमानित लागत करिब सात अर्ब अस्ट्रेलियन डलर छ।
यसले निर्माणदेखि प्रविधि, इन्जिनियरिङ तथा सञ्चालन क्षेत्रमा हजारौँ प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अस्ट्रेलियाली सरकारको दाबी छ।
सम्झौता सार्वजनिक भएसँगै नेक्स्टडीसीको शेयर मूल्यमा उल्लेखनीय वृद्धि देखियो। दिउँसोको कारोबारमा शेयर ४.१ प्रतिशतले उकालो लागेको छ, जसलाई बजार विश्लेषकहरूले एआई पूर्वाधारमा उकासिंदै गएको लगानीको सीधा प्रभाव भनेका छन्।
सरकारका अनुसार यो विशाल एआई केन्द्र निषेधात्मक वातावरणीय प्रभाव नपार्ने गरी निर्माण गरिनेछ। केन्द्रमा नवीन उर्जा स्रोत प्रयोग गरिनेछ भने पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने अत्याधुनिक प्रणाली समावेश गरिने बताइएको छ।
अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई “अस्ट्रेलिया एआई क्षेत्रमा ठूला विजेतामध्ये एक बन्ने संकेत” भन्दै देशको प्रतिभा, स्वच्छ उर्जा क्षमता र प्राविधिक साझेदारीलाई यसले नयाँ उचाइमा पुर्याउने टिप्पणी गरे।
उनका अनुसार एआई प्रयोगलाई देशभर विस्तार गर्ने, सीप अभिवृद्धि गर्ने र अस्ट्रेलियालाई विश्व एआई पूर्वाधार केन्द्र बनाउने लक्ष्य यो परियोजनाले मजबुत बनाउनेछ।
विशेषज्ञहरूका अनुसार यो प्रोजेक्टले अस्ट्रेलियामा ‘सर्भरेन एआई इन्फ्रास्ट्रक्चर’ निर्माण गर्ने मार्ग प्रशस्त गर्नेछ, जसले संवेदनशील डेटा तथा राष्ट्रिय महत्वका एआई प्रवृत्तिहरू आफ्नै भूमिमा सुरक्षित रुपमा सञ्चालन गर्न मद्दत गर्नेछ।
ओपनएआई र नेक्स्टडीसीबीचको यो सम्झौता अस्ट्रेलियालाई एआई इकोसिस्टममा विश्वस्तरीय प्रतिस्पर्धीको रूपमा उभ्याउने अपेक्षा गरिएको छ।

