भक्तपुर । भक्तपुर नगरपालिकामा बसेको बैठकले यस वर्षको तिहार (स्वन्ती) मनाउने मिति टुंगो गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी र ज्योतिषहरूको उपस्थितिमा बसेको बैठकले तिथिअनुसार मिति निर्धारण गरेको हो।
बैठकले कार्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार र दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा मनाउने निर्णय गरेको छ। त्यस्तै, कार्तिक ४ गते मंगलबार दिउँसो ४:२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले सो दिन म्हा पूजा मनाइनेछ। कार्तिक ५ गते साँझ ६:२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइटीका) मनाइने निर्णय गरिएको छ।
बैठकमा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा ७ का अध्यक्ष उकेश कवां, वडा ९ का अध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवाल उपस्थित थिए।







