
भक्तपुर । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले आयोजना गरेको ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् ।
शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय तथा कलेज अध्ययन–अनुसन्धानको थलो हुने भन्दै नगरपालिका अन्तर्गतका ख्वप लगायत शैक्षिक संस्थाले नयाँ–नयाँ विषयमा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको बताए।
उनका अनुसार अध्ययनसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन सिकाउनु शिक्षा क्षेत्रको मुख्य जिम्मेवारी हो।
नगरपालिकाले अनुसन्धान प्रवर्द्धनमा कलेजलाई निरन्तर प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै उनले गुणस्तरमा प्रतिस्पर्धा बढाउन योग्य शिक्षक र सक्षम विद्यार्थी आवश्यक हुने बताए।
प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजले हरेक वर्ष विविध विषयमा कार्यशाला तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलन गर्दै विद्यार्थीलाई अग्रसर बनाउन प्रयासरत रहेको जानकारी गराए।
कार्यशाला स्रोतव्यक्ति डा. टिकाराम गौतमले कार्यक्रमको महत्व प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाले समाजप्रति समर्पित कलेज स्थापना गरी दिएको सेवा उल्लेखनीय रहेको बताए।
कार्यक्रममा सुन्दर शिल्पकार र कमिनिका न्याइँच्याइँले पनि विचार व्यक्त गरे।
यसैबीच, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल को आयोजनामा भएको ‘फौजदारी कानुन र न्याय’ विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद ज्ञापन कार्यक्रम समेत शुक्रबार सम्पन्न भएको छ ।







