
भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ ।
नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो ।
अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय गरी यहाँ सम्पूर्ण आँखासम्बन्धी उपचार सेवा उपलब्ध गराउँदै आएका छौँ।” डा अधिकारीले भने ।
उनका अनुसार सुरुमा सामुदायिक आँखा केन्द्रका रूपमा सेवा दिइए पनि, पछिल्लो एक वर्षयता नगरपालिकासँगको सहकार्यपछि स्तरोन्नति गरी अस्पताललाई ‘ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर’ नाम दिएर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ ।
आवश्यकताअनुसार समुदाय, विद्यालय, वडा र टोलमै पुगेर पनि आँखा उपचार सेवा प्रदान गर्ने गरिएको अस्पतालले जनाएको छ ।
उपलब्ध सेवा
अस्पतालमा काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालले दिने प्रायः सबै सेवा उपलब्ध छन् । आँखाको भिडियो एक्स–रे, मोतिबिन्दुको शल्यक्रिया, कम्प्युटर प्रणालीबाट चस्मा जाँच तथा वितरण, छड्के तथा टेडो आँखा उपचार र आँखा सम्बन्धि अन्य सम्पूर्ण सेवाहरु नेत्र र दृष्टि विशेषज्ञद्वारा प्रदान गरिने अस्पतालले जनाएको छ । अस्पतालमा चेकजाँचका गुणस्तरीय र अत्याधुनिक उपकरणहरु राखिएका छन् ।
देशभरकै अस्पतालभन्दा सस्तो सेवा
भक्तपुर नगरपालिकासँग सहकार्य र सम्झौताका क्रममा नगरप्रमुख एवं अस्पतालका अध्यक्ष सुनिल प्रजापतिले अन्य अस्पतालहरूको दररेटभन्दा सस्तोमा सेवा दिन आग्रह गरेपछि ख्वप तिलगंगा आँखा अस्पतालले देशभरकै अस्पतालभन्दा सस्तो उपचार शुल्क लागू गरेको डाक्टर अधिकारी बताउँछन्।
पुरुष भन्दा महिला बिरामी बढी
अस्पतालमा अक्टोबरसम्म २६ हजार ५ सय ३८ आँखाका बिरामीले सेवा लिएका छन्, जस मध्ये ७ सय ८६ जनाले आँखाको शल्यक्रिया गराएका छन्।
सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सञ्चालि ख्वप तिलगंगा आँखा अस्पतालले तत्कालीन जिल्ला आँखा उपचार केन्द्रको रुपमा सञ्चालनको अवधीसमेत जोड्दा हालसम्म ४ लाख २१ हजार ८ सय २६ बिरामीलाई सेवा प्रदान गरिसकेको छ।
जसमध्ये महिला २ लाख ३५ हजार ५ सय ७३ र पुरुष १ लाख ८६ हजार २ सय ५३ रहेका छन्।
तथ्यांक अनुसार २००६ देखि २०२४ सम्म भक्तपुरमा आँखाका रोगबाट महिला पुरुषभन्दा झण्डै दोब्बर प्रभावित छन्।
बिरामी भन्छन् – सजिलो भयो
आँखा उपचारको लागि प्रतिस्ठित तिलगंगा आँखा अस्पतालको शाखा भक्तपुरमा हुनुले आँखा चेकजाँचमा सुविधा मिलेको तथा यसले समय र पैसाको समेत बचत भएको बिरामीहरु बताउँछन् ।
अस्पतालमा भक्तपुर नगरपालिकाका अलावा जिल्लाका अन्य नगरपालिका र आसपासका जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । यद्यपि क्षमता र अपेक्षा भन्दा बिरामी संख्या भने कमै रहेको देखिन्छ ।
मुख्य चुनौती—नागरिकमा जानकारीको कमी
डाक्टर अधिकारीका अनुसार सेवा गुणस्तरीय र सुलभ भए पनि
अस्पतालको स्थान र उपलब्ध सेवाबारे नागरिकमा पर्याप्त जानकारी नहुँदा अपेक्षित संख्यामा बिरामी पुग्न सकेका छैनन्।
“हामी प्रचार–प्रसार र सरोकारवालासँगको सहकार्यमा पछि पर्यौँ, त्यसैले धेरै नागरिकले अझै पनि सेवाको पहुँचबारे थाहा पाएका छैनन्,” उनी भन्छन्, “अझै पनि बिरामीहरु आँखा उपचारका लागि काठमाडौ स्थित तिलगंगा अस्पतालमा धाइरहेका छन् जबकी हामी ख्वप:अस्पतालमै आधिकारिक शाखा बिस्तार गरेर सेवारत छौँ ।
आँखा जाँच र उपचारमा जनचेतना आवश्यक
डा धिरज अधिकारीका आँखा जाँचमा सर्वसाधारण उदाशीन छन् र बुढ्यौलीमा मात्र आँखामा समस्या आउँछ भन्ने गलत मान्यता छ । उनले आँखाको नियमित जाँच र रोगको शुरूवातमै उपचार गर्न प्रोत्साहित गर्नुपर्ने आश्यकता औल्याएका छन् ।
ख्वप तिलगंगा आँखा अस्पतालको विस्तारले भक्तपुरका नागरिकलाई सस्तो, सहज र आधुनिक आँखा उपचार स्थानीय स्तरमै उपलब्ध गराएको छ। सेवाग्राहीलाई यहाँबाट प्राप्त हुने सेवा र गुणस्तरबारे थाहा दिनसके सेवाग्राहीको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। जसले सर्वसाधारणलाई आँखा उपचार सेवाको पहुँचमा ल्याउन मद्दत गर्ने अस्पतालले बिश्वास लिएको छ ।







