ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु

Narayanman bijukchje
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ । 
 
सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् ।
 
अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन दुई दशक लागेको उल्लेख गर्दै देशका दुरदराजमा कहिले पुग्ला भन्ने चिन्ता व्यक्त गरे । ख्वप अस्पतालले भक्तपुरको मात्र नभई सबै क्षेत्रका जनतालाई सेवा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
 
अन्तराष्ट्रिय विद्युतीय बोलपत्र अनुसार ठेक्का पारी इस्ट वेस्ट कन्सर्न प्रालिले १० करोड ८७ लाख रुपैयाँँमा मसिन उपलब्ध गराएको वडा नम्बर ९ का वडाध्यक्ष एवं अस्पताल ब्यवस्थापन समिति सदस्य रविन्द्र ज्याख्वले जानकारी गराएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मजेसप्रताप मल्लले जनाए अनुसार सिटी स्क्यान मेसिन अत्याधुनिक १ सय २८ स्लाईसदेखि २ सय ५६ स्लाईस फोटो खिच्ने क्षमताको छ ।
 
भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गत आर्थिक वर्षमा ख्वप अस्पतालबाट ७० जिल्लाका २ लाख ८९ हजार बिरामीले सेवा पाएको उल्लेख गर्दै सिटी क्यान सेवा शुरु भएसंगै उपचार थप सहज र प्रभावकारी हुने बिश्वास व्यक्त गरेका छन् ।
 
sunil prajapati
sunil prajapati
 
ख्वप अस्पताल स्वास्थ्य बिमा लागू भएका अस्पतालमध्ये सर्वाधिक सेवा दिने देशकै सातौं स्थानमा रहेको बताउँदै उनले स्वास्थ्य बिमा प्रभावकारीरुपले सञ्चालन नगर्नु र जनतालाई स्वास्थ सेवा दिन नसक्नु सरकारको कर्तव्य र संविधानको मर्म बिपरित हुने बताए ।
 
बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाइँले बागमती प्रदेश सरकारको पाँच करोड रुपैयाँ अनुदान र भक्तपुर नगरपालिकाको आन्तरिक श्रोतबाट सिटी स्क्यान खरिद सम्भव भएको भन्दै सन्तोष ब्यक्त गरे । मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको अघिल्लो सरकारले ख्वप अस्पताल र भक्तपुर अस्पताललाई सिटी स्क्यान मेसिन खरिदका लागि बजेट उपलब्ध गराइदिएको थियो ।
 
गोसाइँले भक्तपुर नगरपालिकाले शिक्षासंगै स्वास्थ्यको क्षेत्रमा पनि प्रगति गरेको र यसले देशका अन्य पालिकालाई समेत सकारात्मक प्रेरणा दिएको दावी गरेका छन् । उद्घाटन समारोहमा उपप्रमुख इ. रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, वडाध्यक्ष श्यामकृष्ण खत्री, उकेश कवां लगायत जनप्रतिनिधिहरु समेत सहभागी रहेका थिए ।