इताछेँ विनायक बन्यो भक्तपुरको उत्कृष्ट सहकारी

भक्तपुर । भक्तपुर-१ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी ‘उत्कृष्ट सहकारी’ घोषित भएको छ । जिल्ला सहकारी संघ भक्तपुरले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इताछेँ विनायकलाई उत्कृष्ट सहकारी को रूपमा सम्मान गरेको हो ।

जिल्ला सहकारी संघको २७औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार संस्थालाई पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

सहकारी मूल्य, मान्यता तथा सिद्धान्तअनुसार संस्थागत सुदृढीकरण, सुशासन, आर्थिक अनुशासन, सदस्य हित संरक्षण र पारदर्शी व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा संस्थालाई उत्कृष्ट घोषणा गरिएको संघका अध्यक्ष ध्रुबबहादुर रायमाझीले जनाएका छन् ।

सम्मान–पत्रमा उल्लेख भएअनुसार सहकारीले नेतृत्व क्षमता, सुशासन प्रवर्द्धन र सदस्य–केन्द्रित सेवामा प्रशंसनीय कार्य गरेको छ। आगामी दिनमा पनि अझ सशक्त र उदाहरणीय सहकारीका रूपमा अघि बढोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ।

इताछेँ विनायक सहकारीका अध्यक्ष कृष्णराम पोतामहले सहकारीहरु धरासायी भैरहँदा उत्कृष्ट हुन सक्नुलाई सफलताको रुपमा प्रतिक्रिया दिए । सम्मानले आगामी दिनमा अझ राम्रो गर्दै जान प्रेरणा प्राप्त भएको उनको भनाइ छ ।

इताछेँ विनायक १८ वर्ष देखि सहकारीको मुलमर्म पछ्याउँदै संचालित सहकारी हो । पारदर्शिता र कुशल नेतृत्वका कारण यसले शेयर सदस्य र समुदायको बिश्वास जित्दै आएको देखिन्छ ।

उपाध्यक्ष एवं कार्यक्रम संयोजक विरज भक्त प्रधानाङ्गले मापदण्ड बनाइ प्रत्येक नगरबाट उत्कृष्ट सहकारी  चयन गरी सम्मान गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि  कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सम्मानित सहकारीहरुले उपलब्धिलाई थप जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सेवा प्रवाह गर्ने बिश्वास व्यक्त गरेका छन् ।