भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरले एघारौँ उद्योग दिवसको अवसरमा ‘प्रभावशाली तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।
दत्तात्रयमा आयोजित कार्यक्रममा जी.के. पोल्ट्री फार्मका सञ्चालक शिशिर किसी, गुण सेरामिक्सका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्मानित उद्योगीहरुलाई फूलमाला र सम्मानपत्र प्रदान गरेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले घरेलु तथा साना उद्योग देशको आधारभूत स्तम्भ भएको र अर्थतन्त्रमा तिनको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे ।
विदेशी वस्तुको आयातले स्थानीय उत्पादनलाई चुनौती दिइरहेको उल्लेख गर्दै उनले नगरपालिकाले स्थानीय उद्योगी ब्यवसायीको हित चाहेको बताए । आत्मनिर्भर अर्थतन्त्रमा जोड दिदै उनले पालिकाले स्थानीयलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए।
उनले अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण तथा पारदर्शी बनाउनु आवश्यक रहेको बताए ।
स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन ब्रान्डिङको आवश्यकता रहेको जनाउँदै नगरपालिकाले बेरोजगार तथा आर्थिक रूपमा कमजोर युवालाई उद्यमशीलता प्रवर्द्धन ऋण उपलब्ध गराउँदै आएको जानकारी पनि दिए।
उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधिले उद्यमीलाई सम्मानले थप प्रेरणा मिल्ने उल्लेख गरे।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘गो लोकल’ अभियानअन्तर्गत १५ वटा स्थानीय उत्पादनलाई प्रमाणीकरण गरी प्रवर्द्धन गरिरहेको बताए।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जा श्रेष्ठले स्टार्टअप कर्जा र महिला उद्यमीका लागि बिना धितो कर्जाले उद्यम विकासमा मद्दत पुगेको धारणा राखिन्।
भक्तपुर च्याम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले लोपोन्मुख स्थानीय पेशा–व्यवसायलाई बचत र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सभापति तथा उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले सम्मानित उद्यमीलाई शुभकामना व्यक्त गर्दै कार्यालयले उद्यमीमैत्री नीति–नियम र सीपमूलक तालिममार्फत थप सहयोग गर्दै जाने बताए।
यसैबीच
भक्तपुरको चाँगुनारायण-४ स्थित चम्पक पाउँ उद्योगकी सञ्चालक देवका श्रेष्ठ बागमती प्रदेश स्तरमा नै उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भएकी छन् । मंगलबार बागमती प्रदेश सरकारको तर्फबाट हेटौंडामा भएको कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका छन् ।








