काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायतमा आयोजित एक विशेष कार्यक्रममा बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न खुलेर आग्रह गरेका छन्।
लण्डनस्थित नेपाली दूतावास र बेलायत–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार निर्माण र उत्पादन क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गरे।
कार्यक्रममा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै अध्यक्ष ढकालले गोरखा सैनिकदेखि विकास सहयोग, शिक्षा र व्यापारसम्म बेलायतले दिएको योगदानको प्रशंसा गरे। उनले अब समय आएको छ — यी सम्बन्धहरूलाई व्यापार र लगानीको माध्यमबाट थप मजबुत बनाउने।
ढकालले नेपालको भौगोलिक अवस्थिति, युवा तथा दक्ष श्रमिकको उपलब्धता, कम श्रम लागत र विस्तार हुँदै गएको मध्यम वर्गको उपस्थिति जस्ता पक्षहरूले नेपाललाई लगानीमैत्री गन्तव्य बनाएको स्पष्ट पारे। उनले जलविद्युतमा मात्र ४० हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता रहेको उल्लेख गर्दै स्वच्छ र हरित ऊर्जामा लगानी गर्न बेलायती व्यवसायीलाई आमन्त्रण गरे।
सूचना प्रविधिको सन्दर्भमा उनले नेपाली युवाको सीप र दक्षताको प्रशंसा गर्दै नेपाललाई डिजिटल सेवा र आउटसोर्सिङको हब बनाउने सम्भावनाबारे पनि धारणा राखे। साथै, लगानीकर्तालाई आवश्यक सबै सहजीकरण र स्थायित्व प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ प्रतिबद्ध रहेको पनि उनले बताए।
कार्यक्रममा सहभागी नेपाली समुदायप्रति विशेष धन्यवाद व्यक्त गर्दै ढकालले पर्यटन प्रवर्द्धन, नेपाली उत्पादनको बजार विस्तार र लगानी आकर्षणमा उनीहरूको भूमिका झन प्रभावकारी हुनसक्ने विश्वास व्यक्त गरे।
कार्यक्रमले नेपाल–बेलायत व्यापारिक सहकार्यमा नयाँ ऊर्जा भर्ने आशा गरिएको छ।