ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गर्न सामुहिक सहकार्यमा जोड दिएका छन्।
शनिबार ललितपुर नगरप्रहरी बलको कार्यालयमा सम्पन्न “विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” को समापन समारोहमा बोल्दै उनले भने, “विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले निरन्तर अभ्यास र तयारी आवश्यक छ।”
महानगरले विपद् व्यवस्थापनका लागि नगरप्रहरीलाई स्रोतसाधनसहित सक्षम बनाएको उल्लेख गर्दै महर्जनले ललितपुर नगरप्रहरीलाई “ब्राण्ड” का रूपमा स्थापित गरिएको बताए। “विपद् उपकरण एउटै छानामुनि व्यवस्थापन गरेका छौँ, तालिमले ठुलो उपलब्धि दिएको छ,” उनले भने।
महानगरप्रमुखले प्रत्येक वडाबाट ३० जनालाई विपद् स्वयंसेवक तालिम दिने योजना पनि सार्वजनिक गरे। तालिम लिने स्वयंसेवकलाई परिचयपत्र र आवश्यक सुविधा प्रदान गरिने जानकारी दिँदै उनले सिकेको ज्ञान अभ्यासमा नल्याइए त्यो सीप खेर जाने चेतावनी दिए।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले विपद् व्यवस्थापनमा ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि तालिमले सशक्त भूमिका खेलेको बताइन्। “सिकेका कुरा सतप्रतिशत कार्यान्वयन गर्नुपर्छ,” उनले भनिन्।
वडा नं. १२ अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले तालिमलाई ऐतिहासिक भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
तालिम संयोजक अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राईले यो तालिम प्रशिक्षार्थी मात्र होइन, प्रशिक्षकका लागि पनि फलदायी भएको धारणा राखे। “उद्धार मात्र होइन, आफैँ कसरी सुरक्षित हुने भन्ने सीप पनि यो तालिमले दिएको छ,” उनले भने।